मध्यपूर्व युद्ध संकट : इरानको तेहरानमा ‘अम्लीय वर्षा’, स्वास्थ्य संकटको चेतावनी
तेहरान । कल्पना गर्नुहोस् त– आकाशबाट कालो वर्षा अर्थात् अम्लीय वर्षा भयो भने के होला ?
यस्तो वर्षा विषाक्त हुन्छ । चिकित्सकहरूका अनुसार मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउँछ ।
हालै इरानको तेल भण्डारण केन्द्रहरूमा भएको इजरायल र अमेरिकाको हवाई आक्रमणपछि राजधानी तेहरानसहित आसपासका क्षेत्रमा कालो वर्षा वा अम्लीय वर्षा भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।
त्यस्तो वर्षाले तेहरानमा वातावरणीय मात्रै होइन, मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने भन्दै चिन्ता प्रकट भइरहेको छ ।
आक्रमणपछि तेल भण्डारहरूमा लागेको भीषण आगलागीबाट निस्किएको विषाक्त धुवाँले वायुमण्डल प्रदूषित बनाएपछि वर्षासँगै कालो पदार्थ मिसिएको पानी झरेको बताइन्छ ।
हालै तेहरान र आसपासका क्षेत्रमा रहेका कम्तीमा चार तेल डिपो र पेट्रोलियम भण्डारण केन्द्रमा हवाई आक्रमण भएको थियो । ती आक्रमणपछि ठूलो आगलागी हुँदा बाक्लो कालो धुवाँ आकाशमा फैलिएको थियो, जसले राजधानी तेहरानको आकाश धुम्म बनाएको थियो ।
स्थानीय बासिन्दाहरूले शहरभरि बाक्लो धुवाँ र तेलको गन्ध फैलिएको बताएका छन् । धेरै ठाउँमा घर, बाल्कोनी र सवारीसाधनहरूमा कालो धुलो र चिल्लो पदार्थ जमेको देखिएको छ । केही बासिन्दाले त सास फेर्नै गाह्रो हुने अवस्था बनेको बताएका छन् ।
वैज्ञानिकहरूका अनुसार तेल डिपोमा लागेको आगोबाट ठूलो मात्रामा हाइड्रोकार्बन, सल्फर अक्साइड र नाइट्रोजन अक्साइडजस्ता रसायन वायुमण्डलमा पुगेका छन् ।
यी रसायनहरू बादलमा पुगेपछि पानीसँग रासायनिक प्रतिक्रिया गरी अम्लीय तत्व बनाउँछन् । त्यसपछि वर्षासँग मिसिएर जमिनमा झर्दा ‘एसिड रेन’ अर्थात् अम्लीय वर्षा हुन्छ ।
यस्तो अवस्थामा पानीमा कालो धुलो, तेलका कण र रासायनिक पदार्थ मिसिएको हुनाले कालो वर्षा हुने बताइएको छ ।
तेहरानमा ठ्याक्कै यस्तै भएको छ । यसपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य जोखिमबारे चेतावनी दिएको छ । विषाक्त कण र रसायनयुक्त वर्षाले टाउको दुख्ने, आँखा पोल्ने, छाला चिलाउने तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्ने बताइएको छ ।
त्यस्तै मानवीय सहायता संस्था इरानीयन रेड क्रेसेन्ट सोसाइटीले नागरिकलाई वर्षाको समयमा घरभित्रै बस्न, शरीर ढाक्ने कपडा लगाउन र दूषित पानीको सम्पर्कबाट टाढा रहन आग्रह गरेको छ । यस्तो वर्षाले छालामा रासायनिक जलन तथा फोक्सोमा गम्भीर असर पार्न सक्ने चेतावनी दिइएको छ ।
भनिन्छ, तेहरानका करिब एक करोड बासिन्दाको दैनिक जीवनमा अम्लिय वर्षाको ठूलो असर परेको छ । धेरै पेट्रोल पम्प बन्द भएका छन् भने केही क्षेत्रमा इन्धन बिक्रीमा सीमितता लगाइएको छ ।
शहरमा प्रदूषणको स्तर अत्यधिक बढेपछि नागरिकलाई मास्क प्रयोग गर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरिएको छ ।
वातावरणविद्हरूका अनुसार तेल भण्डारमा लागेको आगलागीबाट निस्किने धुवाँमा कालो कण, धातु, सल्फर र अन्य विषाक्त पदार्थ मिसिएको हुन सक्छ । यसले दीर्घकालीन रूपमा माटो, पानी र वातावरणलाई प्रदूषित बनाउन सक्छ ।
विशेषज्ञहरूले यस्तो प्रदूषणले भविष्यमा क्यान्सर, श्वासप्रश्वास रोग तथा पारिस्थितिक प्रणालीमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको रिपोर्टमा आधारित
