ल्यापटपकाे मूल्य ४० प्रतिशत बढ्ने !
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बढ्दो कम्पोनेन्ट लागत र आपूर्ति अभावका कारण ल्यापटपको मूल्य करिब ४० प्रतिशतसम्म बढ्न सक्ने देखिएको छ।
प्रविधि बजार विश्लेषण संस्था ट्रेन्डफाेर्सका अनुसार यदि उत्पादकदेखि खुद्रा विक्रेतासम्मका सबै पक्षले आफ्नो नाफा मार्जिन यथावत राख्ने हो भने मूल्यवृद्धि उल्लेखनीय रूपमा देखिनेछ। हाल करिब ९०० डलर पर्ने मुख्यधाराको ल्यापटपको मूल्य बढेर करिब १,२६० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
यस मूल्यवृद्धिको मुख्य कारण मेमोरी (र्याम) र स्टोरेज (एसएसडी) चिपहरूको अभाव रहेको बताइएको छ। विशेषगरी एनएएनडी स्टोरेज चिपको आपूर्ति कमजोर हुँदा यसको मूल्य उच्च बनेको छ। यससँगै इन्टेलले आफ्ना नयाँ पुस्ताका प्रोसेसरहरूको मूल्य बढाउँदा समग्र उत्पादन लागतमा थप दबाब परेको छ।
यसअघि ल्यापटप निर्माणमा प्रयोग हुने प्रमुख कम्पोनेन्ट र्याम, एसएसडी र सीपीयुको कुल हिस्सा करिब ४५ प्रतिशत रहने गरेको थियो। तर पछिल्ला घटनाक्रमपछि यो हिस्सा बढेर करिब ५८ प्रतिशत पुगेको छ, जसले उत्पादन लागतमा उल्लेखनीय वृद्धि भएको संकेत गर्छ।
यद्यपि, कच्चा पदार्थको लागत करिब १३ प्रतिशतले मात्र बढेको देखिए पनि आपूर्ति शृङ्खलामा रहेका विभिन्न तहले आफ्नो नाफा सुरक्षित राख्न खोज्दा अन्तिम उपभोक्ताले तिर्नुपर्ने मूल्य धेरै बढ्ने अपेक्षा गरिएको छ।
उद्योगसँग सम्बन्धित स्रोतहरूका अनुसार, मेमोरी र स्टोरेजको अभाव अझै केही समय कायम रहने सम्भावना छ। स्टोरेज क्षेत्रका केही प्रमुख कम्पनीहरूले त एनएएनडी अभावकै कारण आपूर्ति सुनिश्चित गर्न नसक्ने कम्पनीहरू बन्द हुने जोखिम समेत औंल्याएका छन्।
