`

रक्षा बममाथि दुर्व्यवहार भएको भन्दै जेन-जी फन्टले गर्यो भर्त्सना

Nepal One HD ६ चैत २०८२ १२:३२
समाचार

काठमाडौँ । नेपाल जेनजी फ्रन्टले माइतीघरमा भएको प्रदर्शनका क्रममा आफ्नी संयोजक रक्षा बममाथि दुर्व्यवहार भएको घटनाप्रति कडा आपत्ति जनाएको छ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै फ्रन्टले शान्तिपूर्ण आन्दोलनमा सहभागी भएकी संयोजकमाथि गरिएको व्यवहार अस्वीकार्य भएको स्पष्ट पारेको छ।

फ्रन्टले भनेको छ, ‘बिहीबार शान्तिपूर्ण प्रदर्शनका क्रममा संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको हामी घोर भर्त्सना गर्दछौँ। संविधानले हरेक नागरिकलाई शान्तिपूर्वक भेला हुने र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ। सत्य र न्यायका लागि उभिएकी एक आन्दोलनकारीमाथि यस्तो आक्रमण लोकतान्त्रिक समाजमा स्वीकार्य हुँदैन।’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश **गौरीबहादुर कार्की**को संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू ६ दिनदेखि माइतीघर मन्डलामा निरन्तर प्रदर्शन गरिरहेका छन्। सोही क्रममा केही घाइते आन्दोलनकारी र अगुवाहरूले रक्षा बमविरूद्ध नाराबाजी गरेका थिए।

फ्रन्टले आन्दोलनकारीमाथि लक्षित दुर्व्यवहारले आन्दोलनको शक्ति कमजोर बनाउने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘घाइते, सहिद परिवार, आन्दोलनकारी र अगुवाहरू सबै एउटै यात्राका साझेदार हौँ। असहमति हुन सक्छ, प्रश्न उठ्न सक्छ, पीडाले आक्रोश पनि देखिन सक्छ। तर उत्तर एकअर्कामाथि होइन, राज्यसँग खोजिनुपर्छ। राज्यले अझैसम्म सत्य लुकाइरहेको छ, प्रतिवेदन सार्वजनिक नहुने आशंका बढ्दै छ। यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुर्व्यवहारले आन्दोलनलाई थप कमजोर बनाउनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *