इरानसँगको युद्ध छिट्टै अन्त्य गर्ने ट्रम्पको दाबी
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः इरानसँग जारी युद्ध छिट्टै अन्त्य गर्ने संकेत दिएका छन्। आफ्नै सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखिएको सन्देशमा उनले मध्यपूर्वमा इरानी आतंकवादी शासन विरुद्ध सञ्चालित प्रमुख सैन्य कारबाही लक्ष्यप्राप्तिका नजिक पुगेकाले क्रमशः रोक्ने तयारी भइरहेको दाबी गरेका छन्।
ट्रम्पले युद्ध अन्त्यको प्रसङ्गसँगै रणनीतिक हर्मुज स्ट्रेटको विषयसमेत जोडेर भनेका छन्- ‘यस मार्ग प्रयोग गर्ने राष्ट्रहरूले यसको सुरक्षाको जिम्मेवारी लिनुपर्छ।’ विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्ग हुँदै हुने हुँदा यसको स्थायित्व अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।
उनका अनुसार अमेरिका आवश्यक परे सम्बन्धित मुलुकलाई स्ट्रेटको सुरक्षा प्रयासमा सहयोग गर्न तयार छ, तर इरानी खतरा समाप्त भएपछि त्यस्तो आवश्यकता रहने छैन। यस्तै, उनले इरानको क्षेप्यास्त्र क्षमता “पूर्ण रूपमा नष्ट” भइसकेको तथा यसको सैन्य औद्योगिक संरचना गम्भीर रूपमा क्षतिग्रस्त भएको दाबी पनि गरे।
ट्रम्पले इरान कहिल्यै आणविक हतियार विकासको नजिक नआओस् भन्ने कुरा सुनिश्चित भएको बताए पनि भित्रि विवरण भने भिन्न देखिन्छ। सीबीएसले उद्धृत गरेको अमेरिकी सैन्य अधिकारीहरूको भनाइअनुसार, इरानमा सम्भावित स्थलसेना तैनाथीका लागि व्यापक तयारी भइरहेको छ। पेन्टागनका वरिष्ठ अधिकारीहरूले यस्तो कदमका लागि योजनाबद्ध प्रस्ताव अघि सारिरहेको रिपोर्टमा उल्लेख छ।
गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलले संयुक्त हवाई आक्रमण गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी लगायतका शीर्ष व्यक्तिहरूको हत्या गरेयता स्थिति झन् तनावपूर्ण बनेको छ। मानवअधिकारसम्बन्धी समाचार संस्था एचआरएएनएका अनुसार इरानमा हालसम्म ३,१८६ जनाको मृत्यु भइसकेको छ।
यसबीच, इरानका सुरक्षा संरचनाका महत्वपूर्ण व्यक्तित्व- सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका प्रवक्ता अली मोहम्मद नैनीसमेत मारिइसकेका छन्। बढ्दो तनावबीच युद्ध वास्तवमै अन्त्यतर्फ उन्मुख छ कि अझ व्यापक द्वन्द्वतर्फ फैलिँदैछ भन्ने प्रश्नले अन्तर्राष्ट्रिय चिन्ता थप बढाएको छ।
