लिपुलेकको बाटो प्रयाेग गरेर व्यापार सुरु गर्दै भारत-चीन
काठमाडौं । नेपालले आफ्नो नक्सामा समेटेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले यस वर्षबाट सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेका छन्।
टाईम्स अफ इन्डियाले उल्लेख गरेअनुसार, करिब ६ वर्षपछि पुनः व्यापार खोल्ने तयारी दुई मुलुकले अघि बढाएका छन्। टाईम्स अफ इन्डियाले उत्तराखण्डका जिल्ला अधिकारी आशिष कुमार भटगाईलाई उद्धृत गर्दै, सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि भारतीय केन्द्र सरकारको निर्देशनअनुसार तयारी सुरु भइसकेको जानकारी दिएको छ।
स्थानीय रूपमा पुलाङ-गुन्जी भनेर चिनिने लिपुलेक भञ्ज्याङ कालापानी क्षेत्रमा पर्ने तीनमध्ये एक गाउँ हो। हाल भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रबारे नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ। यसअघि पनि सन् २०१५ र २०२० मा लिपुलेकबारे भारत-चीनबीच भएको द्विपक्षीय सहमतिको नेपालले विरोध जनाएको थियो।
भारतको विदेश मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ जारी भएपछि व्यापार पुनः सुरु हुने मार्ग खुलेको बताइन्छ।
यस्तै, भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई पत्र लेख्दै हिमालयन भञ्ज्याङ हुँदै व्यापार पुनः सञ्चालन गर्न आवश्यक तयारी मिलाउन आग्रह गरेका छन्।
