राप्रपामा चुनावी कम्प : निर्देशक समिति अध्यक्षबाट डा. लोहनीको राजीनामा, महाधिवेशनको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय निर्देशक समिति अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् ।
उनले पार्टीको लज्जास्पद हार चुनावमा भएपछि नैतिकताको आधारमा राजीनामा दिएको बताए ।
नेपालवान एचडीसँग कुरा गर्दै उनले भने, ‘पार्टीको जुन किसिमको नजिता आयो नि, त्यो अनपेक्षित थियो । हामी असफल भएकै हो । त्यसो हुनाले त्यो परिवेशमा म त्यो पदमा बस्नु उचित हुँदैन ।’
उनले चुनावमा भएको हारमा कसको कहाँ गल्ती भयो भन्नेबारे निर्मम समीक्षा हुनुपर्ने पनि बताए । उनले पार्टीको महाधिवेशन मिति तोकेर आह्वान गर्नुपर्ने माग पनि गरे ।
गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षमा १६५ मध्ये एक सिटमा जितेको थियो । मरितरी ‘थ्रेसहोल्ड’ पार गरेको थियो । थ्रेसहोल्ड पार गरेसँगै चार सिट पाउने हुँदा राप्रपाको प्रतिनिधिसभामा ५ सिट भएको छ ।
जबकि २०७९ को प्रतिनिधिसभामा प्रत्यक्षमा ७ सिट र समानुपातिकबाट ७ सिट गरी १४ सिट राप्रपाको थियो ।
‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्ने अध्यक्ष राजेन्द्र लिङ्देनको कमान्डरसिपमा चुनावमा एक्लै जाँदा राप्रपाको हार भयो ।
कतिपयले राप्रपाले बोकेको राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा चुनावबाट नेपाली जनताले खारेज गरिदिएको अर्थमा पनि विश्लेषण गर्न थालेका छन् ।
