‘सात दिने मौसम पूर्वानुमान तयारीमा विभागः प्रविधि र बजेटको अभाव मुख्य चुनौती’
काठमाडाैं। जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएकोमा निकट भविष्यमै सात दिनसम्मको पूर्वानुमान गर्ने योजना बनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसम विज्ञ राजु प्रधानाङ्गले यसबारे जानकारी दिएका हुन्। मौसमजन्य विपद्बाट हुने धनजनको क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमानलाई थप भरपर्दो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् । प्रधानाङ्गले पूर्वानुमानको शुद्धताका लागि अवलोकनका तथ्यांकहरू गुणस्तरीय हुनुपर्ने बताए । नेपालमा हरेक वर्ष भारी वर्षा, हावाहुरी, असिना र डढेलो जस्ता मौसमी प्रकोपले ठूलो क्षति पु¥याइरहेको उल्लेख गर्दै उनले विभागले हाल भूउपग्रह (स्याटेलाइट), राडार, रेडियोसोण्ड र जमिनमा आधारित मौसम केन्द्रहरूबाट तथ्यांक संकलन गरिरहेको जानकारी दिए।
प्रधानाङ्गका अनुसार विभागले हाल ‘न्युमेरिकल वेदर मोडलिङ’ मार्फत तीन दिनसम्मको पूर्वानुमान नियमित रूपमा जारी गर्दै आएको छ । यो तथ्यांक सडक विभाग, खानी तथा भूगर्भ विभाग र कृषि सूचना तथा तालिम केन्द्र जस्ता निकायहरूलाई पूर्वतयारी र निर्णय प्रक्रियाका लागि उपलब्ध गराइँदै आएको छ ।
विभागले हाल पर्वतारोहण, हवाई उड्डयन, कृषि र शहरी क्षेत्रका लागि विशेष पूर्वानुमान सेवाहरू प्रदान गरिरहेको उनले बताए । विशेषगरी हवाई मौसम सेवालाई डिजिटाइज गरिएको र २१ वटा स्थानीय तहका लागि ‘प्रभावमा आधारित पूर्वानुमान’ शुरु गरिएको उनले बताए । सन् २०१० पछि नेपालको मौसमसम्बन्धी प्रविधिमा उल्लेख्य सुधार आएको चर्चा गर्दै प्रधानाङ्गले आगामी दिनमा सात दिनसम्मको पूर्वानुमान गर्ने प्रणाली विकास गर्ने बताए । साथै, मौसमसम्बन्धी जानकारी सजिलै उपलब्ध गराउन मोबाइल एप सञ्चालनमा ल्याउने र आफ्नै ‘डिसिजन सपोर्ट सिस्टम’ (निर्णय सहयोग प्रणाली) बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।
उनले भने, ‘भारी वर्षाबाट हुने क्षतिलाई कम गर्नको लागि जोखिमलाई न्युनिकरण गर्नको लागि हामीले २१ वटा स्थानीय तहको लागि भनेर आईबीएफ फोरकास्ट पनि दिइरहेका छौँ । यस बाहेक तथ्यांकको सम्बन्धमा हामीले सेवाग्राहीहरुलाई आवश्यक तथ्यांकहरु माग भएअनुसार तथ्यांकहरु दिइरहेका छौँ । र बीमाको लागि तथ्यांकहरुलाई प्रमाणीकरण गर्ने आदि कार्यहरु पनि गरेका छौँ । यसै जलवायुको क्षेत्रमा सिजनल वेदर आउटलुक जस्तै आगामी मौसम कस्तो हुन्छ भन्नेबारे त्यसको आकलन र त्यस बाहेक यो डेली मन्थली सिजनल र एनुअल रिपोर्टहरु र यो एक्सट्रिम प्रेसिपिटेसन टेम्परेचर मोनिटरिङ ड्राउट मोनिटरिङ क्लाइमेट चेन्ज इन्फर्मेसन जस्ता जानकारीहरु हामीले दिइरहेका हुन्छौँ । त्यस्तै कृषि क्षेत्रमा हामीले हरेक हप्ता बिहीवारको दिन यो गत हप्ताको गत साताको वेदर एनालिसिसहरु रेनफल टेम्परेचर ह्युमिडिटी आदिको जानकारी दिने गर्छौं ।
विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट रामविकेश रायले जल तथा मौसम विज्ञान विभागका प्राविधिक रामविकेश रायले नेपालको जलविज्ञान (हाइड्रोलोजी) क्षेत्रमा अवलोकनदेखि सेवा प्रवाहसम्म महत्वपूर्ण कार्य भइरहेको भएपनि प्रविधि र बजेटको अभाव मुख्य चुनौतीका रूपमा रहेको छ । रायले विभागले जलविज्ञान र मौसम विज्ञानका दुवै पक्षलाई समेटेर सेवा प्रदान गरिरहेको जानकारी दिए ।
उनकाअनुसार हाल देशभर २ सय ३० वटा जलस्तर मापन केन्द्रहरू रहेका छन्, जसमध्ये २ सय ६ वटा स्वचालित (अटोमेटिक) भइसकेका छन् । विभागले राडार लेभल सेन्सर, स्टाफ गेज र डिस्चार्ज मापनमार्फत तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।
