सिंहदरबारमा सपथ ग्रहण, माइतीघरमा बालेनविरुद्ध प्रदर्शन
काठमाडौं। नयाँ प्रधानमन्त्री नियुक्तिका लागि प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउने तयारी थालेपछि महिला अधिकारकर्मीहरू सडकमा उत्रिएका छन्। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, सदस्य लिली थापा, र महिला मानवअधिकार राष्ट्रिय सञ्जालकी अध्यक्ष श्यामकुमारी साहसहित दर्जनौं महिला अधिकारकर्मीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ सिट जितेर प्रधानमन्त्री बन्न लागेका बालेनले मन्त्रिमण्डलको आकार घटाउने र उक्त मन्त्रालयलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समाहित गर्ने तयारी गरेसँगै महिला अधिकारकर्मीहरू आक्रोशित बनेका हुन्। उनीहरूको भनाइ अनुसार, महिला तथा बालबालिका मन्त्रालयलाई थप सशक्त बनाउनुपर्ने अवस्थामै यसलाई अशक्त बनाउने काम भइरहेको छ।
महिला अधिकारकर्मीहरूको निष्कर्ष छ कि नेपालका कुल जनसंख्याको झण्डै ५१ प्रतिशत नागरिकसँग सम्बन्धित विषयहरू सम्बोधन गर्दै आएको मन्त्रालय हटाउँदा ठूलो असर पर्नेछ। नयाँ सरकारले यसबारे ध्यान दिनुपर्ने चेतावनीका साथ आज उनीहरूले आक्रामक तर शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
