असल जनप्रतिनिधि हुँदै असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
काठमाडौँ। नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले जनादेश र मतादेशको उच्च सम्मान गर्दै आफ्नो पार्टीले असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।सङ्घीय संसद्मा आज सपथ ग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै सांसद थकालीले कांग्रेसलाई निर्वाचनबाट प्रतिपक्षीय भूमिकाको जिम्मेवारी मिलेको उल्लेख गर्नुभयो । सोही बमोजिम एउटा असल जनप्रतिनिधि हुँदै असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।
“हिजोको कमी कमजोरीलाई स्वीकारेर थप परिष्कृत ढङ्गले एउटा असल जनप्रतिनिधि बन्ने प्रयासको क्रममा मैले मेरो तर्फबाट जति पनि योगदान दिन सक्छु, सबै विधि विधायनको प्रक्रियामा होस्, चाहे जिल्लाको र समग्र राष्ट्रकै साझा चुनौती र अवसरको विषयमा होस्, मेरो तर्फबाट भरपुर मेहनत हुनेछ”, सांसद थकालीले भन्नुभयो ।यो ऐतिहासिक क्षणमा अझ थप जिम्मेवार बोध र जुन साझा चुनौती तथा अवसरलाई अझ पेचिलो ढङ्गले जिम्मेवारी बोध गरेको सांसद थकालीले बताउनुभयो ।
