`

सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, आज राति १० बजे राष्ट्रपति पौडेलले दर्शन गर्ने

Nepal One HD १२ चैत २०८२ २१:२६
प्रमुख खबर

काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ ।रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । रथयात्राका लागि आज बेलुकी ५ः०० बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन आज रथ असन पु¥याइने जनाइएको छ । रथ असन पु¥याएपछि अहिले बेलुकी पूजा, आराधना गर्ने भक्तजनको भीड लाग्ने जनाइएको छ ।

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनःरथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा रहेको छ ।

चैत्र शुक्ल अष्टमीका दिन आज कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी एवं काठमाडौँ महानगरपालिका–२५ का पूर्वअध्यक्षसमेत रही सक्नुभएका नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो ।

आज राति राष्ट्रपतिले पूजा एवं दर्शन गर्नुहुने

असनमा आज राति करिब १०ः०० बजे राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुहुने कार्यक्रम छ । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैतेदसैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई ‘नागराजा’को प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।

रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरव अघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्राको प्रक्रिया सुरु हुने परम्परा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *