बालेन्द्र शाह र्यापरदेखि प्रधानमन्त्रीसम्म : सत्ताको स्टेरिङ देश उकास्ने कि डुबाउने मार्गमा ?
काठमाडौं– ३६ वर्षका बालेन्द्र शाह ‘बालेन’ आज प्रधानमन्त्री बन्दैछन् । राजनीतिमा आएको साढे तीन वर्षमै उनी प्रधानमन्त्री बन्ने भएका हुन् ।
उनलाई ४०औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो १२ः३४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदैछन् । उनी रास्वपाका वरिष्ठ नेता हुन् । बिहीबार मात्रै उनलाई रास्वपाले संसदीय दलको नेता चयन गरेको हो ।
शपथ ग्रहण समारोहमा परम्परागत धार्मिक विधिअनुसार सातवटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति वाचन तथा बौद्ध भिक्षुहरूद्वारा अष्टमंगल पाठ गरिने कार्यक्रम तय गरिएको छ ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाटकोटीका अनुसार शपथपछि दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने कार्यतालिका छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बालेन झापा–५ बाट निर्वाचित भएका हुन् । फेरि उनको दल रास्वपाले निर्वाचनबाट अभूतपूर्व जनमत पायो ।
अर्थात् प्रत्यक्ष र समानुपातिकबाट गरी रास्वपाको १८२ सिट प्रतिनिधिसभामा छ । जबकि सरकार गठन गन १३८ सांसद भए पुग्छ । तर, दुई तिहाई नजिकको बहुमत प्राप्त गर्यो । संसदीय यो अंकगणितले देखाउँछ– बालेन शक्तिशाली प्रधानमन्त्री बन्दैछन् ।
देशमा प्रजातन्त्रको बहालीपछि संघीय लोकतान्त्रिक गणतन्त्रको दशक अवधिसम्ममा यति कलिला (३६ वर्षका) प्रधानमन्त्री देशले पाएको थिएन ।
फेरि राजनीतिमा आएको यति छोटो समयमा पनि प्रधानमन्त्री पनि कोही बनेका थिएनन् । जातीय कोणबाट भन्दा मधेसी समुदायबाट अहिलेसम्म कोही पनि नेता प्रधानमन्त्री बनेका थिएनन् । बरु आदिवासी जनजातिबाट मरिमानसिंह श्रेष्ठ एकपटक प्रधानमन्त्री भए ।
जेन–जी विद्रोहपछि गठित चुनावी सरकारमा महिला प्रधानमन्त्री भइन् । उनी हुन् – सुशीला कार्की । बाँकी सबै प्रधानमन्त्रीहरू खस–आर्य समुदायका मात्रै हुन् । तर, यसपटक मधेसका नागरिक बालेन देशको सर्वोच्च कार्यकारी पदीय जिम्मेवारी सम्हाल्न पुग्दैछन् ।
उनी २०७९ को वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
त्यसबेला उनी स्वतन्त्र उम्मेदवार बनेर लडेका थिए । स्थापित दल कांग्रेस, एमालेलगायत दलका उम्मेदवारहरूविरुद्ध विजयी हासिल गर्दै उनी करिब साढे तीन वर्ष प्रमुख भए । गत माघको ४ गते राजीनामा दिएर संसदीय राजनीतिमा आएका हुन् ।
उसो त उनी काठमाडौंका प्रमुख हुनुअघि पनि राजनीतिक गतिविधिमा भने सरिक थिए । खासगरी उनी वैकल्पिक राजनीतिको धारमा देखिएका थिए ।
विगतमा राजनीतिक अस्थिरता छँदा विभिन्न दलले बन्द हट्ताल गरेको बेला प्रतिकारमा ‘नेपाल खुला छ’ भन्दै सडक प्रदर्शनमा आउँथे । देशमा सुशासन र भ्रष्टाचार नियन्त्रण मुद्दामा सडकमा आउँथे ।
र्याप गीतमार्फत उनी आफ्ना अभिव्यक्ति सबैभन्दा प्रभावकारी ढंगले व्यक्त गर्दथे । त्यसैले त उनी नेपाली हिप–हप क्षेत्रमा मात्र परिचित थिए ।
‘बालेन’ नामबाट उनले गाएका र्याप गीतहरूले भ्रष्टाचार, सामाजिक असमानता र राजनीतिक विकृतिमाथि तीखा टिप्पणी हुन्थे । तर, उनका र्यापमा महिलामाथि तुच्छता झल्किएको र अश्लिलतालाई प्रबद्र्धन गरिएको भन्दै कतिपय महिलाहरूले आलोचना गरेका थिए ।
उसो त काठमाडौंका प्रमुख छँदा पनि उनी पदीय मर्यादाविपरीतका अभिव्यक्ति दिन्थे । कहिले हिंसाप्रेरित त कहिले अराजकता झल्किने स्टाटस लेख्थे । सार्वजनिक आलोचना बढेपछि हटाउँथे ।
उनी ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकस्थित विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका नेता हुन् । त्यसैले उनी प्राविधिक पृष्ठभूमिका राजनीतिज्ञका रूपमा चिनिन्छन् ।
२०७२ सालको महाभूकम्पपछि उद्धार र राहत कार्यमा सक्रिय रहँदा उनले समाजसेवी छवि बनाएका थिए ।
उनको राष्ट्रिय छवि बनेको भने २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको प्रमुख निर्वाचित भएपछि नै हो । त्यसपछि उनी राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा पुगे ।
प्रमुखका रूपमा उनले सरसफाइ, शिक्षा, डिजिटल सेवा र सार्वजनिक संरचना व्यवस्थापनका क्षेत्रमा काम गरे । तर, ३५ प्रतिशतभन्दा बढी पुँजिगत अर्थात् विकास बजेट खर्च गर्न सकेनन् । तर, उनको लोकप्रियता कहिल्यै ओरालो लागेन ।
जेन–जी विद्रोहमा पर्दा पछाडिका सर्वोच्च कमान्डरको भूमिकामा देखिएका उनी त्यसपछि झनै लोकप्रिय बने ।
उनलाई विद्रोहपछि निम्तिएको राजनीतिक शून्यताको अवस्थामा प्रधानमन्त्रीमा जेन–जीहरूबाट अगाडि सारिएका थिए । तर, उनले त्यसबेला प्रधानमन्त्री बन्न चाहेनन् । पूर्वप्रधानन्यायाधीश सुुशीला कार्की बनिन् ।
अब भने बालेन शक्तिशाली प्रधानमन्त्री बन्दैछन् । उनी महागनर प्रमुख छँदा डिग्रीले भन्दा सीपले रोजगारी पाउने वातावरण बनाउने बताउँथे ।
उनी अहिले पनि राजनीतिभन्दा धेरै विकासका भिजनका कुरा गर्छन् । रास्वपा प्रवेशपछि ५ माघमा जनकपुरको उद्घोष सभामा उनले सोधेका थिए, ‘म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछु । मलाई काम गर्न अवसर दिनुहुन्छ ?’
उनै बालेन आजदेखि काम गरेर देखाउने भूमिकामा आइपुगेका छन् । राजनीतिशास्त्री लोकराज बराल बालेन निकै चुनौतीपूर्ण अवस्थामा शासनसत्ता सम्हाल्न पुगेको बताउँछन् । जनतामा व्याप्त निराशा चिर्दै देशमा सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नु उनका लागि सबैभन्दा चुनौतीपूर्ण रहेको बराल ठान्छन् ।
बालेनसँग संसदीय राजनीतिको अनभुव छैन । देशको शासनसत्ता सञ्चालनको त अनुभव हुने कुरै भएन । यस्तोमा उनले देशलाई समृद्धि र विकासको दिशामा लान्छन् ? कि संकटको मार्गमा ? चासोको विषय बनेको छ ।
