सुधन गुरुङलाई गृह मन्त्रालयकाे जिम्मा
काठमाडौं । जेन-जी विद्राेहपछि एकाएक राष्ट्रिय राजनीतिमा देखा परेका सुदन गुरुङ गृहमन्त्री हुने बताएका छन् । उनी त्यसअघि सामाजिक क्षेत्रमा थिए ।
विद्राेहकाे बेला पानी बाँडेका उनले विद्राेहपछि आफूलाई जेन-जी विद्राेहकाे मुल कमान्डरकाे रुपमा प्रस्तुत गरे । कतिपयले उनलाई आन्दाेलन हाइज्याक गरेकाे आराेप लगाउँथे ।
उनै गुरुङ बालेन सरकारमा गृहमन्त्री बन्ने भएका हुन् । गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुर्ख्यौली थलो भएका गुरूङको जन्म २०४४ सालमा भएको हो ।
काठमाडौंको मल्टी इन्टरनेसनल कलेजमा ‘ए लेभल्स’ को पढाइ सकेपछि उनी विपद् सम्बन्धी तालिम लिएर सहजकर्ताको रूपमा काममा लागेका थिए ।
विभिन्न संघसंस्थासँग जोडिएर काम गर्ने अवसर पाउँदै गएपछि गुरुङ सामाजिक कार्यमा अग्रसर भएका थिए । २०७२ सालको भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्था खोलेर उनी राहत तथा उद्दारमा खटिएका थिए ।
‘शिक्षा, स्वास्थ्य, विपद् र समाजमा देखिएको विसङ्गति विरुद्ध आवाज उठाउने उद्देश्यसहित म एक्लैले यो संस्था खोलेँ,’ गुरुङ भन्दै आएका छन्, ‘पछि अरूहरू पनि जोडिँदै जानुभयो ।’
घटनाक्रम अनुसारका विभिन्न आन्दोलनमा समेत उनी सहभागी बन्दै आए । बाढीपहिरोजस्ता विपद्मा मात्र नभई कोभिडको समयमा पनि उनी आबद्ध संस्थाले विभिन्न ठाउँमा सहयोग गर्यो । कोभिड अस्पताल निर्माणदेखि ड्रोनबाट राहत वितरणको काममा समेत उनको संस्था अग्रसर देखियो ।
सामाजिक कार्यमा व्यस्त रहँदै आएका उनलाई धेरैले चिन्दैनथे । सुदन गुरूङ नेपाली राजनीतिक वृत्तमै हलचल ल्याउने गरी गत २३ भदौमा भएको जेनजी आन्दोलनका कारण सर्वाधिक चर्चामा आए ।
तर, उनी जेनजी उमेर समूहका युवा भने होइनन् । २३ भदौमा युवाहरू काठमाडौंको माइतीघर मण्डलामा भेला हुँदा गुरुङले आफूलाई स्वयमसेवकको रूमा चिनाएका थिए ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको खुट्टा ढोगे पछि उनको चर्चा थप चुलिएको थियो । गुरूङमाथि जेनजी आन्दोलन ‘हाईज्याक’ गरेको आरोप पनि लागेको थियो ।
गुरूङले आफ्नै समर्थनमा सरकार बनेको दुईपछि नै प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन पनि गरेका थिए । कार्की नेतृत्वको अन्तरिम सरकार गठनदेखि मन्त्रिमण्डल विस्तारसम्म उनको बोलबाला चल्यो ।
उनले निर्वाचनको सम्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) लाई एक ठाउँमा उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी बालेनसँगै रास्वपामा मिसिए ।
सामाजिक अभियन्ताबाट राजनीतिमा फड्को मारेका उनले आसन्न निर्वाचनमा गोरखा–१ बाट टिकट समेत पाए । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
