सहयाेद्धा प्रतिभा रावललाई रविले बनाए सामान्य प्रशासनमन्त्री
काठमाडौं । बालेन सरकारमा प्रतिभा रावल सामान्य प्रशासनमन्त्री बन्दै छिन् । उनी रास्वपाबाट समानुपातिक सांसद बनेकी हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुरमा जन्मिएकी ३२ वर्षीया प्रतिभा रावल रास्वपाको सहप्रवक्ता हुन्।
उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य बनेकी हुन्।
एक दशकभन्दा बढी समय पत्रकारिता गरेर राजनीतिमा लागेकी रावल पहिलो संसद् यात्रामै मन्त्री बन्न सफल भएकी हुन्।
पत्रकार रहँदा ३२ वर्षीया रावलले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टीभीलगायत सञ्चारमाध्यममा काम गरेकी थिइन्।
ग्यालेक्सीमा काम गर्दागर्दै उनी हाल रास्वपाका सभापति लामिछानेसँग नजिक भएर काम गरिन्।
लामिछानेले २०७९ असार ७ मा रास्वपा गठन गरेपछि केही महिनामै केन्द्रीय समिति विस्तार हुँदा केन्द्रीय समितिमा पुगेकी थिइन्।
रास्वापाको संस्थापक सदस्य बनेर प्रत्यक्ष रूपमा रास्वपासँग जोडिएकी रावलले नयाँ पुस्ताको राजनीतिमा एक आशालाग्दो महिला नेतृत्वको छवि बनाएकी छन्।
रास्वपाको सहप्रवक्ताको जिम्मेवारी सम्हालेकी रावल सभापति रवि लामिछानेको विश्वास पात्रमध्येकी हुन्।
केही समयका लागि उनले कार्यवाहक प्रवक्ताको समेत जिम्मेवारी सम्हालेकी थिइन्।
रवि लामिछाने गृहमन्त्री हुँदा रावलले सचिवालयमा पनि काम गरेकी थिइन्।
प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुईतिहाइ प्राप्त गरेपछि सभापति लामिछानले रावललाई यो सफलतामा पर्दा पछाडि बसेर लड्ने योद्धाका रूपमा चित्रण गरेका थिए।
