`

उर्जामन्त्री बनेका विराजभक्त को हुन् ?

Nepal One HD १३ चैत २०८२ १४:२१
राजनीति

काठमाडौं ।  उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व विराजभक्त श्रेष्ठले सम्हालेका छन्। बालेन्द्र साहको नेतृत्वमा आज बनेको मन्त्रिपरिषद्मा काठमाडौं-८ बाट निर्वाचित ४४ वर्षीय श्रेष्ठ ऊर्जामन्त्री बनेका हुन्।

श्रेष्ठले हालसालैको निर्वाचनमा सुमन सायमीलाई २१ हजार ३७५ मतान्तरले पराजित गरेका थिए। उनले २४ हजार ५९२ मत प्राप्त गर्दा सायमीले ३ हजार २१७ मत मात्र पाएका थिए। यसअघि २०७९ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए, र त्यतिबेला पनि प्रतिस्पर्धी सायमी नै थिए।

श्रेष्ठको राजनीतिक यात्रा विवेकशील साझा पार्टीबाट सुरु भएको हो। उनी बागमती प्रदेश सभा सदस्य हुँदै संघीय सरकारको युवा तथा खेलकुदमन्त्रीसम्म पुगेका थिए। ‘बिजनेस एड्मिनिस्ट्रेशन’ मा स्नातक उनले करियरको सुरुवात होटल-रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनामा जागिरबाट गरेका थिए।

२०७२ सालको भूकम्पपछि उनको सार्वजनिक छवि थप मजबुत बन्यो। उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले मुस्ताङदेखि बर्दीवाससम्म विपन्न समुदायका लागि राहत वितरण, स्वास्थ्य शिविर तथा विभिन्न सहयोग कार्यक्रम सञ्चालन गरेको थियो।

वातावरण संरक्षणका लागि उनले फोर्स नेपाल स्थापना गर्दै ‘वन ट्री-मेरो जिम्मेवारी’ जस्ता अभियान चलाए, जसले उनलाई आधारभूत तहका नागरिकसँग जोड्ने काम गर्‍यो। २०७४ को निर्वाचनअघि उनी उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा सक्रिय भएका थिए। प्रदेश सभा सदस्य बनेपछि उनको कार्यशैलीले व्यापक ध्यान खिच्यो।

श्रेष्ठ हरेक वर्ष आफ्नो कामको प्रतिवेदन सार्वजनिक गर्ने कम नेता मध्येको एक हुन्। बागमती प्रदेशमा नेपाली भाषा (नेवा: भाषा) र तामाङ भाषालाई सरकारी कामकाजका भाषा बनाउने कानुन पारित गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। संघीय सरकारले ल्याएको गुठी विधेयकका विरोधमा उनी सडक तथा सदन दुवै मोर्चामा सशक्त रूपमा उत्रिएका थिए।

विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘राजावादी’ दस्तावेज सार्वजनिक गरेपछि वैचारिक मतभेदका कारण श्रेष्ठ पार्टीबाट अलग भएका थिए। २०७९ को निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका उनले १०,११२ मतसहित विजय प्राप्त गरे, जहाँ हाम्रो नेपाली पार्टीका सुमन सायमी ६,१७९ मतसहित पछि परे।

संघीय संसदमा उनले सुशासन र खेलकुद क्षेत्रको सुधारका लागि निरन्तर सक्रियता देखाएका थिए। छोटो अवधिका लागि युवा तथा खेलकुदमन्त्री हुँदा खेल क्षेत्रको बेथिति हटाउन र खेलाडीको मनोबल उकास्न उनले उठाएका कदमले उनलाई ‘काम गर्न सक्ने सक्षम युवा’ नेताका रूपमा स्थापित गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *