सरकारले ओलीलाई पक्राउ गरे प्रतिकार गर्ने महेश बस्नेतको चेतावनी
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने प्रयास गरे कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै सरकारले पक्षपातपूर्ण ढंगले कारबाही अघि बढाउन खोजे देश फेरि द्वन्द्वतर्फ धकेलिने दाबी गरेका हुन्।
बस्नेतले लेखेका छन्, ‘बालेन नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकमै कार्की आयोगको प्रतिवेदनबारे निर्णय गर्दै सुरक्षाकर्मीबारे अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतका नेताहरूमा भने सोझै प्रतिवेदन कार्यान्वयन गर्ने कुटिल निर्णय गरेको सुनियो।’
उनका अनुसार, कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड र राजनीतिक बदला लिन खोजे जोखिम बढ्नेछ। बस्नेतले भने, ‘यसले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने खतरा बनाउँछ। न्याय सबैका लागि समान हुनुपर्छ, नत्र यसको विरुद्ध सशक्त प्रतिरोध हुनेछ।’
बस्नेतले भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारसँग माग पनि गरेका छन्। उनका अनुसार स्कुले पोशाकमा बालबालिकालाई सडकमा उतार्ने, तनावपूर्ण वातावरण बनाउने, सदनदेखि सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्ने कार्यमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही आवश्यक छ।
त्यसक्रममा उनले केही गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको रकम हिंसात्मक गतिविधिमा प्रयोग भएको आशंका गम्भीर रहेको पनि उल्लेख गरे। ‘शक्तिको आडमा गरिने यस्ता आतङ्ककारी गतिविधि समाजका लागि कदापि स्वीकार्य हुँदैन,’ बस्नेतले भने।
उनले सबै पक्षको निष्पक्ष अनुसन्धानबिना कुनै पनि कदम चालिए त्यो पूर्वाग्रहपूर्ण ठहरिने चेतावनी समेत दिए।
