`

उपत्यकामा हाई अलर्ट, गृहमन्त्री लगायत उच्च सरकारी पदाधिकारीको बैठक जारी

Nepal One HD १३ चैत २०८२ २३:२७
बिशेष

काठमाडौँ । नवगठित मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सरकारको निर्णयपछि उत्पन्न हुन सक्ने सम्भावित चुनौतीको मूल्यांकन गर्न गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका शीर्ष अधिकारीसँग आकस्मिक बैठक शुरू गरेका छन्।

उच्च सुरक्षा स्रोतका अनुसार, गृहमन्त्री गुरुङ, नेपाल प्रहरीलेका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालबीचको बैठक सशस्त्र प्रहरी प्रमुख अर्यालको नक्सालस्थित सरकारी आवासमा चलिरहेको छ।

यसअघि शुक्रबार साँझ नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्ना अधीनस्थ निकायलाई आन्तरिक सर्कुलर जारी गर्दै ‘हाई अलर्ट’मा रहन निर्देशन दिएका थिए। उपत्यकाभित्रका सबै सुरक्षा युनिटहरूलाई तयारी अवस्थामा राखिएको बताइएको छ।

सुरक्षा सतर्कता बढाइएको यो कदम बालेन शाह नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकपछि आएको हो। उक्त बैठकले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्ने गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजान सैद्धान्तिक सहमति जनाएको थियो। आयोगको प्रतिवेदन कार्यान्वयनले विरोध प्रदर्शन र राजनीतिक तनाव बढ्न सक्ने सम्भावना देखिएकाले सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *