`

ओली निवास प्रहरीको निगरानीमा, लेखक र ओली पक्राउ गर्न प्रहरीले माग्यो लिखित आदेश

Nepal One HD १३ चैत २०८२ २३:४३
बिशेष

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न निर्देशन दिएपछि नेपाल प्रहरीले लिखित आदेश माग गर्दै तत्कालका लागि प्रक्रिया रोकिएको जनाएको छ। प्रहरीका अनुसार, लिखित आदेश प्राप्त नभएसम्म कुनै कदम नचल्ने स्पष्ट गरिएको छ।

उच्च प्रहरी अधिकारीका भनाइअनुसार, “हामीले लिखित आदेश मागेका छौँ, आदेश आएपछि मात्रै अगाडि बढ्छौँ।” हाल गुण्डुस्थित ओलीको निवास वरपर नेपाल प्रहरी, भक्तपुर प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध महाशाखाका संयुक्‍त टोलीलाई निगरानीमा खटाइएको छ।

गृहमन्त्री गुरुङले पदभार सम्हालेपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग करिब दुई घण्टा लामो छलफल गरेका थिए। छलफलका क्रममा दुवै प्रमुखले पक्राउ प्रक्रिया अघि बढाउन लिखित आदेश आवश्यक पर्ने प्रष्ट पारेका थिए। यतिबेला प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी निकायलाई ‘चुस्त र सतर्क’ रहन निर्देशन दिँदै घटनाबारे आन्तरिक तयारी जारी राखेको बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्किएपछि गृहमन्त्री गुरुङ बूढानीलकण्ठ पुगेका थिए, जहाँ उनले रवि लामिछानेसँग भेटवार्ता गरेका हुन्।

स्रोतका अनुसार, जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको आयोगको प्रतिवेदन कार्यान्वयनबारे शीर्ष तहमा सक्रिय छलफल भइरहेको छ। मन्त्रिपरिषद्को पहिलो बैठकले यो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।

सरकारले सुरक्षाकर्मीको हकमा भने तत्काल कारबाही नगरी थप अध्ययनपछि मात्र निर्णय लिने बताएको छ। तर पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, र तत्कालीन सीडीओ छविलाल रिजालसम्बन्धी भाग भने तत्काल कार्यान्वयन गर्ने निर्णय लिइएको छ। सोही आधारमा गृहमन्त्रीले पक्राउ प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *