सरकार प्रतिशोधको भावनाबाट अघि बढे देश पुनः संकटतर्फ धकेलिने नेकपाको चेतावनी
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार पूर्वाग्रह वा प्रतिशोधको भावनाबाट अघि बढे देश पुनः संकटतर्फ धकेलिन सक्ने चेतावनी दिएको छ। सरकारले प्रतिसोधपूर्ण ढंगले पक्राउ गरिरहेको भन्दै नेकपाले यस्तो चेतावनी दिएको हो।
आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा संसदीय दलको संयुक्त बैठकपछि प्रतिक्रिया दिँदै सांसद महेन्द्रबहादुर शाहीले सरकारलाई विधि, प्रक्रिया र कानुनअनुसार काम गर्न आग्रह गरे।
उनले भने, “सरकारले आग्रह वा पूर्वाग्रहका आधारमा काम गर्नु हुँदैन। जहाँ पूर्वाग्रह र प्रतिशोधका आधारमा छानबिन हुन्छ, त्यतातर्फ सरकार अघि बढ्यो भने देश फेरि दुर्घटनामा जान सक्छ।”
यसैबीच, २०४८ सालदेखि राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णयमा नेकपाले सहयोग गर्ने उनले बताए। सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा पार्टीको स्पष्ट धारणा रहेको पनि उनले उल्लेख गरे।
शाहीका अनुसार, पार्टीका संयोजक प्रचण्डले पनि प्रधानमन्त्री रहँदा संसदबाट बारम्बार सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका थिए।
उनले थपे, “जहाँ जहाँ प्रश्न उठेका छन्, त्यहाँ छानबिन हुनुपर्छ। प्रधानमन्त्री, सरकारी कर्मचारी र राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने हाम्रो धारणा हो। अहिलेको सरकारले कानुनसम्मत रूपमा गरेका काममा हाम्रो समर्थन रहनेछ।”
