एमाले जुट्यो आजपनि प्रदर्शनमा
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै पार्टीले आज पनि काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ।
एमालेका सचिव महेश बस्नेतका अनुसार सोमबार दिउँसो १ बजे माइतीघर मण्डलमा विरोध कार्यक्रम आयोजना गरिनेछ। सामाजिक सञ्जालमार्फत उनले कार्यक्रममा व्यापक सहभागिताका लागि कार्यकर्ता र समर्थकलाई आह्वान गरेका छन्। बस्नेतले वर्तमान सरकारको शैलीप्रति आपत्ति जनाउँदै ओलीमाथि गरिएको पक्राउलाई प्रतिशोधपूर्ण कदम भएको दाबी गरेका छन्।
भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरेको थियो।
ओलीको पक्राउपछि बसेको एमाले सचिवालय बैठकले देशव्यापी विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आइतबार काठमाडौँसहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरिएको थियो।
शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओली हाल महाराजगन्जस्थित शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा रहेका छन्।
