सांसदको विज्ञता अनुसार मन्त्रालयमा खटाउने रास्वपाको तयारी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई मन्त्रालयमा खटाउने तयारी थालेको छ। सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाएर क्षमता अभिवृद्धि र भविष्यमा सम्भावित मन्त्रीका रूपमा अनुभव प्राप्त गराउने उद्देश्यले पार्टीले सांसदलाई मन्त्रालयमा खटाउने तयारी थालेको हो।
रास्वपाका प्रवक्ता मनिष झालेले तयारी भैरहेको तर खटाइनसकेको जानकारी दिए ।
उनले भने, “तयारी भइरहेको हो, खटाइसकेको छैन। गृहकार्य गर्दै छौं।” उनले थपे, “सांसद भनेको भविष्यको मन्त्रीसमेत हो। त्यसैले उनको लागि ट्रेनिङ पनि हुन्छ।”
कतिपय सांसदले भने आफ्नो विज्ञता अनुसार मन्त्रालयमा गएर मन्त्रीको कामलाई सहज बनाउन र सहयोग पुर्याइरहेका छन्। पार्टीका अनुसार यो कदम जनभावनाअनुसार छिटो र छरितो काम गर्न सांसदहरूले मन्त्रीलाई सहयोग गर्न सकून् भन्ने उद्देश्यले उठाइएको हो।
प्रवक्ता झाका अनुसार सांसदसँगै पार्टीको केन्द्रीय विभागका सदस्यहरूलाई पनि मन्त्रालयमा खटाउने तयारी छ। रास्वपाले २१ फागुनमा भएको चुनावमा झण्डै दुई तिहाइ मत ल्याएर सरकार गठन गरेको थियो। गत १३ चैतमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बनेको थियो।
प्रधानमन्त्री शाहले सबै दलका सांसदहरूलाई सिंहदरबारमा बोलाएर छलफल सुरु गरेका छन्। आइतबार मन्त्रीहरूसँग भएको छलफलपछि आज प्रदेशगत रुपमा सांसदहरूसँग छुट्टाछुट्टै छलफल जारी रहेको जानकारी दिइएको छ।
