माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई कृषि विभागको आग्रह
काठमाडौँ। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ ।विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माटो परीक्षणका लागि किसानलाई आह्वान गरेको हो ।
माटोमा औषत २.५९ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको छ । किसानलाई नजिकका कार्यालयमा प्राविधिकको सल्लाह लिएर गुणस्तर वृद्धि गर्न भनिएको छ ।
विशेषगरी तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थको मात्रा कम छ । गत वर्ष ३६.९ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४६.७ प्रतिशत माटोमा मध्यम र १६.४ प्रतिशत माटोमा उच्च मात्रामा प्राङ्गारिक पदार्थ पाइएको थियो ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कृषि उत्पादन वृद्धि गर्न गुणस्तरीय माटोले सहयोग पुग्ने बताउँदै करिब ३७ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम ४५ प्रतिशत माटोमा मध्यम र १८ प्रतिशत माटोमा उच्च मात्रामा पाइएको जानकारी दिनुभयो ।
पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको छ । गत वर्ष करिब ५३ प्रतिशत माटो अम्लीय, करिब ३३ प्रतिशत माटो तटस्थ र करिब १४ प्रतिशत माटो क्षरीय प्रकृतिको पाइएको थियो ।
गतवर्ष नेपालको माटोमा औषत २.७७ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको विभागले जनाएको छ । नेपालमा प्रतिवर्ष माथिल्लो सतहको करिब १.७ मिलिमिटर माटो भूक्षयका कारण ह्रास हुने गरेको जनाइएको छ ।
