`

गुगलको आजसम्म कै ठूलो फड्को : जेम्मा-४ सार्वजानिक

Nepal One HD २० चैत २०८२ १३:१९
रोचक

काठमाडौं। गूगलले आफ्नो नयाँ तथा शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल ‘जेम्मा-४’ सार्वजनिक गरेको छ। यसपटक कम्पनीले यसलाई ‘ओपन वेट’ मात्र नभई ‘ओपन सोर्स’ (अपाचे २. ० लाइसेन्स अन्तर्गत) अन्तर्गत पूर्ण रूपमा ओपन सोर्स बनाएर ठूलो कदम चालेको हो ।

यस निर्णयसँगै विश्वभरका डेभलपर र प्रयोगकर्ताले जेम्मा ४ लाई निःशुल्क डाउनलोड, परिमार्जन तथा व्यावसायिक रूपमा समेत कुनै रोयल्टी बिना प्रयोग गर्न सक्ने भएका छन्।

गुगलका अनुसार जेम्मा ४ प्रयोगकर्तामैत्री मोडेल हो, जसलाई आफ्नै डिभाइस-जस्तै ल्यापटप वा एन्ड्रोइड फोनमा डाउनलोड गरेर अफलाइन अवस्थामा पनि चलाउन सकिन्छ। यसले प्रयोगकर्ताको डेटा गोपनीयता सुनिश्चित गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

यता जेमिनाई  र जेम्मा-४ बीच स्पष्ट भिन्नता रहेको छ। जेमिनाई गुगलको सःशुल्क तथा क्लोज्ड प्रणाली हो, जुन सर्च, जिमेल र डक्सजस्ता सेवामा एकीकृत छ र प्रयोगका लागि इन्टरनेट अनिवार्य हुन्छ। तर जेम्मा ४ भने ओपन मोडेल भएकाले प्रयोगकर्ताले स्वतन्त्र रूपमा प्रयोग गर्न सक्नेछन्।

विशेषताका हिसाबले जेम्मा ४ उच्च क्षमतायुक्त एआई मोडेल मानिएको छ। यसमा एडभान्स्ड रिजनिङ, मल्टी-स्टेप योजना बनाउने क्षमता तथा जटिल गणितीय समस्या समाधान गर्ने क्षमता समावेश छ। साथै, यो मल्टिमोडल प्रणाली भएकाले अडियो, भिडियो, ध्वनि पहिचान र चार्ट विश्लेषण गर्न सक्षम छ।

यो मोडेल २ अर्ब, ४ अर्ब, २६ अर्ब र ३१ अर्ब प्यारामिटरका विभिन्न संस्करणमा उपलब्ध हुनेछ, जसले प्रयोगकर्ताको डिभाइस क्षमताअनुसार छनोट गर्न सहज बनाउनेछ। साथै, यसले १४० भन्दा बढी भाषालाई समर्थन गर्ने र २ लाख ५६ हजार टोकनसम्मको कन्टेक्स्ट विन्डो प्रदान गर्ने जनाइएको छ।

गुगलका अनुसार जेम्मा ४ अरबौँ एन्ड्रोइड डिभाइस तथा सामान्य ल्यापटपका जीपीयूमा पनि सहजै सञ्चालन गर्न सकिन्छ। ओपन सोर्स लाइसेन्सका कारण अब विकासकर्ताहरूले आफ्नै डेटा र पूर्वाधारमा पूर्ण नियन्त्रण राख्दै एआई एजेन्ट, कोडिङ असिस्टेन्ट लगायतका नवीन प्रविधि निर्माण गर्न सक्ने भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *