`

निर्यातलाई बढाउन सके मात्र मुलुकको अर्थतन्त्र बलियो बन्छ : गणेश पराजुली

Nepal One HD २१ चैत २०८२ ६:०८
राजनीति

काठमाडौँ । प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले निर्यातलाई बढाउन सके मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।निर्यात व्यवसायी महासङ्घ नेपालको छैटौँ वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उनले मुलुकको आर्थिक विकासको लागि निर्यात व्यवसायलाई बढाउन जरुरी रहेको बताएका हुन् ।

“पुरानो नेताको अनुभव र नयाँको ज्ञानलाई प्रयोग गरेर मुलुकको अर्थतन्त्र बलियो बनाउन वर्तमान सरकार लागेको छ, कसैलाई गाली गरेर होइन, योगदान गरेर मुलुकको विकास गर्नुपर्छ,” उनले भने । मुलुकको आर्थिक उन्नतिका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँ क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य पराजुलीले मुलुकमा सुशासन र आर्थिक विकासका लागि रास्वपाले १०० बुँदे बाचापत्र तयार गरेको बताउँदै यसलाई पुरा गर्न वर्तमान सरकार लाग्ने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सबै राजनीतिक दलले आफ्नो घोषणापत्रमा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नु निजी क्षेत्रका लागि खुसीको कुरा भएको बताए ।उनले रोजगारीका लागि विदेश जाने जनशक्तिलाई रोक्न र देशमै रोजगारी प्रदान गर्न वर्तमान सरकार लाग्नुपर्ने बताए । उनले व्यवसायीको लागि सहज वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उल्लेख गरे ।

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष गोकुल भण्डारीले आयतमुखी अर्थतन्त्र भएको देशलाई निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्रको विकासका लागि उत्पादनलाई ध्यान दिनुपर्ने उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ, महासङ्घका संस्थापक अध्यक्ष रामबहादुर गुरुङ, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निर्देशक राजेन्द्र सिंहलगायतले सरकारले निर्यात क्षेत्रलाई सहजीकरण गरे मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको थियो ।

महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले निर्यात क्षेत्रलाई सहजीकरण गर्नका लागि अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्र स्थापना, विदेशमा हुने मेलाको बजेट व्यवस्थापन, नेपालमा उत्पादित सामान परीक्षणका लागि अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला, तालिम केन्द्र, अनलाइनमार्फत नगद अनुदानलगायतका सेवामा सहजीकरण गर्न सरकारलाई आग्रह गरे ।कार्यक्रममा निर्यात गतिविधिलाई समेटेर तयार गरिएको निर्यात स्मारिका’को विमोचन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *