`

ट्रम्पद्वारा इरानलाई ४८ घण्टे अल्टिमेटम

Nepal One HD २२ चैत २०८२ ११:२६
राजनीति

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानलाई फेरि ४८ घन्टाको अल्टिमेटम दिएका छन्।

शुक्रबार इरानले आफ्नो भूमिमा अमेरिकी एफ-१५ ई स्ट्राइक इगल लडाकू विमान खसालेपछि ट्रम्पले स्ट्रेट अफ हर्मुज खुला गर्न ४८ घन्टे समयसीमा तोकेका हुन्।

उक्त घटनामा विमानका एक चालकको उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजीका लागि पुगेको अमेरिकी सेनाको हेलिकप्टरमाथि समेत इरानी आक्रमण भएको बताइएको छ।

घटनापछि शनिबार आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मा पोस्ट गर्दै ट्रम्पले ४८ घन्टाभित्र हर्मुज नखोले इरानमाथि ‘नर्क बर्सिने’ चेतावनी दिएका छन्।

उनले भनेका छन्, ‘मैले उनीहरूलाई सम्झौताका लागि १० दिनको समय दिएको थिएँ। त्यो समय सकिँदैछ। ४८ घन्टाभित्र तयार नभए भयानक हमला हुनेछ।’

फेब्रुअरी २८ देखि सुरू भएको द्वन्द्वयता ट्रम्पले पटक पटक वार्ताका लागि अल्टिमेटम दिँदै आएका छन्, तर अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन। सुरुमा दिएको ४८ घण्टे समयसीमा उनले वार्ता सकारात्मक रहेको दाबी गर्दै पटक पटक थप्दै अन्ततः अप्रिल ६ सम्म पुर्‍याएका छन्।

ट्रम्पले इरानले माग नमाने ऊर्जा संरचनामाथि आक्रमण गर्न सकिने चेतावनी समेत दिएका छन्।

यता, इरानले पनि कडा प्रतिक्रिया दिएको छ। इरानी सेनाका कमान्डर अली अब्दोल्लाही अलीवादीले अमेरिका तनाव बढाउन चाहन्छ भने ‘नर्कको ढोका खुला’ रहेको चेतावनी दिएका छन्।

सैनिक मुख्यालयका प्रवक्ता इब्राहीम जोल्फाघरी ले पनि अमेरिकाविरुद्ध कडा प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘यदि शत्रुता बढाइयो भने इरान तपाईंका लागि नर्क हुनेछ। इस्लामिक गणतन्त्रलाई हराउने भ्रम अन्ततः तपाईंलाई नै निल्ने दलदल बन्नेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *