दुई वर्ष सकारात्मक बोलौँ,सोचौँ र लेखौँः सभामुख अर्याल
प्रतिनिधि सभाका नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आफ्नो कार्यकालमा पूर्ण रूपमा निष्पक्ष, तटस्थ र मर्यादित ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शपथ ग्रहणपछि सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै सभामुख अर्यालले पदको गरिमा, तटस्थता र निष्पक्षताको मूल्यलाई आफूले गहिरोसँग आत्मसात् गरेको बताउनुभयो। उहाँले हालको प्रतिनिधि सभा २०८२ को विशेष निर्वाचनको म्यान्डेटबाट गठन भएको उल्लेख गर्दै यस पटकको सबैभन्दा बलियो प्रतिपक्ष ‘जनता’ रहेको धारणा राख्नुभयो।
सभामुख अर्यालले संसद् मूलतः प्रतिपक्षको भूमिका बलियो हुनुपर्ने मान्यतामा आफू दृढ रहेको स्पष्ट पार्नुभयो। प्रतिपक्षमा एक जना मात्र सदस्य भए पनि उहाँहरू सशक्त हुने भन्दै उहाँले प्रतिपक्षको आवाजलाई सम्मानजनक ढंगले उठान र व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “यस पटकको निर्वाचन विगत र भविष्यका निर्वाचनभन्दा फरक छ। म सभामुखको हैसियतमा रहँदा मलाई राम्रोसँग थाहा छ—यस पटकको बलियो प्रतिपक्ष नागरिक नै हुन्।”
मिडिया र आम नागरिकलाई सकारात्मक सोच र सन्देश प्रवाह गर्न सभामुख अर्यालले विशेष आग्रह पनि गर्नुभएको छ। समाज निर्माणका लागि सकारात्मक ऊर्जा आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “वर्षौँदेखि हामीले मिडियामा सकारात्मक समाचार पढ्न पाएका छैनौँ। संसारभर रहेका नेपाली र मिडियाका साथीहरूलाई मेरो अनुरोध छ—कम्तीमा दुई वर्ष सकारात्मक बोलौँ, सकारात्मक सोचौँ र सकारात्मक लेखौँ।”
सभामुख अर्यालले प्रतिनिधि सभाको मुख्य दायित्व कानुन निर्माण भएको उल्लेख गर्दै सरकारलाई आवश्यक नीति तथा कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भौतिक संरचनालाई ठूलो विषय नबनाई मूल ध्यान नीति निर्माण र कानुनमा केन्द्रित गर्नुपर्ने बताउनुभयो।
उहाँले विगतका दुःखद घटनाहरू दोहोरिन नदिन र नयाँ पुस्ता ‘जेन–जी’ ले त्यस्ता पीडा भोग्नु नपरोस् भन्ने दिशामा आफू केन्द्रित रहने बताउनुभयो। साथै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच समन्वय बढाउँदै तीनै तहका सरकार र दुई सदनबीच राष्ट्रिय हितका विषयमा प्रभावकारी बहस अघि बढाइने उहाँले उल्लेख गर्नुभयो।
पत्रकारहरूप्रति सम्मानजनक व्यवहार गर्ने प्रतिबद्धता जनाउँदै सभामुख अर्यालले समस्या मात्र नभई समाधानमुखी सुझाव र प्रस्ताव लिएर आउन आग्रह गर्नुभयो। आफ्नो अनुभव र कार्यशैलीमार्फत संसद् सञ्चालनमा देखिने गरी परिवर्तन ल्याउने दाबी गर्दै उहाँले त्यसका लागि केही समय धैर्य गर्न आग्रह गर्नुभयो।
