राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम यही चैत २७ गते शुक्रबारका दिन १५:०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नु हुनेछ । राष्ट्रपतिले दुवै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान पनि गर्नुभएको छ ।
दुवै सदनको चालु अधिवेशन शुक्रबार आज देखि अन्त्य हुने
राष्ट्रपति पौडेलले सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन आज राति १२:०० बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गर्नुभएको छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो ।
