अमेरिका–इरानबीच युद्धविरामको प्रक्रिया जारी रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ
इस्लामावाद। अमेरिका र इरानबीच गत सप्ताहन्तमा भएको शान्तिवार्तामा तत्काल उद्देश्य प्राप्त गर्न नसकिएको भएपनि युद्धविराम जारी रहेको र सहमतिमा पुग्ने प्रयास अझै भइरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार बताउनुभएको छ।
“युद्धविराम अझै जारी छ र विवाद समाधान हुन बाँकी रहेका मुद्दाहरू समाधान गर्न पूर्ण प्रयास भइरहेको छ,” शरीफले टेलिभिजनमार्फत संक्षिप्त टिप्पणी गर्दै भन्नुभयो ।
समयसीमा सकिएको अमेरिकी भनाइ
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहमा नौसैनिक नाकाबन्दीका लागि तोकेको सोमबारको समयसीमा सकिएको छ ।
तेहरानसँग सप्ताहन्तमा भएको शान्ति वार्ता बिना कुनै सहमति सकिएपछि ट्रम्पले इन्धन ढुवानीका लागि रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ नाकाबन्दीको घोषणा गर्नुभएको थियो ।
अमेरिकी सेनाले सोमबार ग्रीनविच समयअनुसार सबै खाडी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने बताएको छ । इरानबाट नआएका र इरानतर्फ नजाने जहाजहरूलाई स्ट्रेट हुँदै आवतजावत गर्न अनुमति दिइने सेनाले बताएको छ ।
वार्ताका लागि खुला रहन इरानसँग कतारको आग्रह
कतारका प्रधानमन्त्रीद्वारा सोमबार इरानी विदेशमन्त्रीलाई इरान र संयुक्त राज्य अमेरिकाले मध्यस्थताको प्रयासमा सकारात्मक रूपमा संलग्न हुन आग्रह गर्दै समुद्री मार्गहरूलाई ‘मोलमोलाइ गर्ने औजार’ को रूपमा प्रयोग गर्न नहुने चेतावनी दिनुभएको छ ।
कतारको विदेश मन्त्रीको समेत जिम्मेवारी हेर्दै आउनुभएका शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब्बास अरागचीसँगको फोनमा जारी मध्यस्थताको प्रयासमा सबै पक्षले सकारात्मक प्रतिक्रिया दिनुपर्नेमा जोड दिनुभएको छ ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उहाँले समुद्री मार्गहरू खोल्नुपर्ने, नौवहनको स्वतन्त्रताको सुनिश्चितता गरिनुपर्ने र तिनीहरूलाई दबाब वा सौदाबाजीको उपकरणको रूपमा प्रयोग गर्न नहुने कुरामा जोड दिनुभयो ।
