वाम एकताको चर्चा असान्दर्भिक : विष्णु पौडेल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको गम्भीर समीक्षा र पुनर्गठन नै अहिलेको मुख्य कार्यसूची भएको बताएका छन्।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले निर्वाचन परिणामलाई गम्भीर रूपमा लिएर आत्मसमिक्षा गर्दै पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
‘निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो,’ उनले भने।
यसैबीच, पछिल्लो समय उठाइएको वामपन्थी एकताको बहसप्रति उनले असन्तुष्टि जनाएका छन्। उनले यस्तो चर्चा असान्दर्भिक रहेको उल्लेख गर्दै यसले पार्टीभित्रको वास्तविक मुद्दाबाट ध्यान विचलित गर्न खोजिएको आशंका व्यक्त गरे।
‘यस यथार्थबाट ध्यान मोड्ने गरी पर्दा पछाडिबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले र किन चलाइरहेका छन् भन्ने स्पष्ट हुनुपर्छ,’ पौडेलले प्रश्न उठाए।
उनको भनाइले एमालेभित्र आगामी दिनमा आत्मसमिक्षा र संगठन पुनर्गठनको बहस थप तीव्र हुने संकेत गरेको छ।
