`

चेपाङ विद्यार्थीद्वारा निर्मित ‘स्लिपर्स टु स्याटलाइट’ अन्तरिक्षमा प्रक्षेपण

Nepal One HD ६ वैशाख २०८३ ११:३३
विज्ञान-प्रविधि

काठमाडौं।  चितवन र मकवानपुरका ९ जना चेपाङ विद्यार्थीले निर्माण गरेको ‘स्लिपर्स टु स्याटलाइट’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण भएको छ। उक्त स्याटलाइट बुधबार बिहान नेपाली समयअनुसार १० बजेर १ मिनेटमा चिनियाँ रकेटमार्फत प्रक्षेपण गरिएको हो।

कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूको टोलीलाई अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरहरूले सहयोग गरेका थिए। स्याटलाइटमा जडान गरिएका दुई क्यामेरामार्फत नेपालको वनस्पति र जलस्रोतसम्बन्धी तथ्यांक संकलन गरिनेछ। साथै, भूकम्पको पूर्वसूचना सम्बन्धी अध्ययन गर्ने प्रणाली पनि समावेश गरिएको छ। स्याटलाइट करिब डेढ वर्षसम्म अन्तरिक्षमा रहने अनुमान गरिएको छ।

करिब १.२ किलोग्राम तौलको उक्त स्याटलाइटले प्रक्षेपणपछि अन्तरिक्षबाट संकेत पठाउन सुरु गरिसकेको जनाइएको छ। विपन्न समुदायका विद्यार्थीले छोटो समयमै यस्तो उपलब्धि हासिल गर्नु महत्वपूर्ण मानिएको छ।

कार्यक्रम करिब दुई वर्षअघि सुरु भएको थियो, जसमा आधारभूत कम्प्युटर ज्ञानबाट सुरु गरी स्याटलाइट निर्माणसम्मको यात्रा पूरा गरिएको हो। अहिले ती विद्यार्थी रोबोटिक्स क्षेत्रमा पनि सक्रिय रहेको बताइएको छ।

‘स्लिपर्स टु स्याटलाइट’ अभियानले विपन्न समुदायका बालबालिकालाई प्रविधिमा पहुँच दिलाउने उद्देश्य राखेको छ। यसैबीच, अन्तरिक्ष प्रतिष्ठान नेपालले ‘स्लिपर्स टु स्याटलाइट-२’ परियोजना अघि बढाउने तयारी गरेको छ।

उक्त स्याटलाइटमार्फत संकलित तथ्यांकले प्राकृतिक प्रकोपको पूर्वतयारी तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *