मण्डलामा मञ्चन हुने नाटकलाई हलिउडबाट शुभकामना(भिडियो)
काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा नयाँ नाटक ‘ग्रान्ड रिहर्सल’ मञ्चन हुने भएको छ। यो नाटक २४ अप्रिलदेखि सुरु भई १७ मेसम्म प्रदर्शन हुने तय गरिएको छ।
उमेश तामाङको निर्देशनमा तयार भएको यो नाटक व्यंग्यप्रधान शैलीमा प्रस्तुत गरिएको हो। अनुप न्यौपाने र उमेश तामाङले नाटकको अनुवाद गरेका छन् भने बुद्धि तामाङ निर्माता रहेका छन्।
नाटकमा अनुप न्यौपाने, मिलन कार्की, सुदीप खतिवडा, रुजा राउत, रक्षा थापा, सन्तोष गिरी, अमिर ताम्राकार, सुजन घिमिरे, श्रीशेष श्रेष्ठ, बलबहादुर राई र राजाबाबु कार्की लगायत कलाकारको अभिनय रहनेछ।
कथावस्तु ‘नाटकभित्र नाटक’ संरचनामा आधारित छ। हत्या रहस्यमा आधारित नाटक मञ्चन गर्ने क्रममा कलाकारहरूले विभिन्न प्राविधिक र अभिनयसम्बन्धी समस्या सामना गर्छन्, जसले मञ्चनलाई नियन्त्रणबाहिर पुर्याउँछ। यिनै हास्य र अव्यवस्थाका घटनामार्फत नाटकले रंगमञ्चको वास्तविकता प्रस्तुत गर्ने प्रयास गरेको छ।
मण्डला थिएटरका सह-संस्थापक सोमनाथ खनालका अनुसार यो नाटक चर्चित ब्रडवे प्रस्तुति ‘द प्ले द्याट गोज रङ’ बाट प्रेरित भए पनि नेपाली परिवेशमा पुनःनिर्माण गरिएको हो।
यस नाटकका लागि हलिउड अभिनेता विलियम डाफोले समेत शुभकामना सन्देश दिएका छन्। चार पटक अस्कर अवार्डका लागि मनोनयनमा परेका डाफोले भिडियो सन्देशमार्फत नेपालमा नाटक मञ्चन हुन लागेकोमा उत्साह व्यक्त गर्दै दर्शकलाई मण्डला थिएटरमा गएर नाटक हेर्न आग्रह गरेका छन्।
