इरानको दिक्दारी – ‘ट्रम्पसँग वार्ता गर्नुको तुक छैन’
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चित अवधिसम्म लम्ब्याउने निर्णय गरेपछि इरानका उच्च तहका अधिकारीहरूबाट कडा प्रतिक्रिया आउन थालेको छ ।
इरानी संसदका सदस्य महमूद नबाभियनले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकासँग अब वार्ता गर्नु अर्थहीन हुने बताएका छन् । ‘यहाँबाट अमेरिकासँग वार्ता गर्नु पूर्ण रूपमा हानिकारक र तुकहीन हुनेछ,’ उनले उल्लेख गरेका छन् । नबाभियन इस्लामाबादमा भएको इरान-अमेरिका वार्ताको पहिलो चरणमा सहभागी प्रतिनिधिमण्डलका सदस्यसमेत हुन् ।
यस्तै, इरानको शीर्ष सैन्य कमाण्ड खातम अल-अन्बिया मुख्यालयका प्रवक्ताले कुनै पनि आक्रमण भएमा इरानी सेनाले ‘पहिले नै तय गरिएका लक्ष्यहरूमा अझ कडा प्रहार गर्ने’ चेतावनी दिएका छन् । उक्त चेतावनी अमेरिका र इजरायल दुवैलाई लक्षित भएको विश्लेषण गरिएको छ ।
यद्यपि, नबाभियनको टिप्पणी र सैन्य वक्तव्यमा युद्धविराम थपिएको विषयमा प्रत्यक्ष उल्लेख गरिएको छैन । ती प्रतिक्रिया ट्रम्पको घोषणापछि इरानी सञ्चारमाध्यममार्फत सार्वजनिक भएका हुन् ।
अहिलेसम्म मोहम्मद बाघेर गालिबाफसहित इरानी विदेश मन्त्रालयका उच्च अधिकारीहरूबाट औपचारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ ।
