तत्कालिन ओली सरकारको निर्णय बालेन सरकारले उल्ट्यायो
काठमाडौं। २०७५ साल भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय वर्तमान सरकारले उल्ट्याएको छ ।
तत्कालीन सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको थियो । साथै, प्रतिष्ठानलाई काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने योजना अघि बढाइएको थियो ।
तर वर्तमान मन्त्रिपरिषद्ले उक्त निर्णय खारेज गर्दै सो जग्गा पुनः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०७५ भदौ २१ को निर्णयबमोजिम महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा (११४–३–०–०) राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णयको सट्टा उक्त जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्नेछ ।’
