‘उपरखुट्टी’वाला तस्बिर सार्वजनिक भएपछि विवादमा ऊर्जामन्त्री श्रेष्ठ (भिडियाे)
काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको संवादमा उपरखुट्टी लगाएको तस्बिर सार्वजनिक भएपछि आलोचना भएको छ ।
कुनै पनि देशका कूटनीतिज्ञसँग संवादमा रहँदा उपरखुट्टी लगाउनु कूटनीतिक आचरणविपरीत मानिन्छ । तर, भारतीय राजदूत श्रीवास्तवसँगको संवादको क्रममा मन्त्री श्रेष्ठले उपरखुट्टी लगाएको देखिन्छ ।
नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले मन्त्री श्रेष्ठको कूटनीतिक आचरण र शिष्टाचारअनुकूल नदेखिने उक्त तस्बिर सार्वजनिक भएपछि कडा शब्दमा आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘सामान्यतया साधारण भेटघाटमा पनि समकक्षको अगाडि उपरखुट्टी लगाएर बस्नु सभ्य मानिँदैन ।’
त्यसमाथि कूटनीतिक हिसाबले मित्र राष्ट्रका राजदूतको अगाडि मन्त्रीले उपरखुट्टी लगाएर बस्नु त झन् शिष्टाचारअनुकूल नमानिने बताए ।
उनले ‘अरुको अगाडि दब्नु हुँदैन भन्ने अर्थ अशिष्ट हुनु पनि होइन’ भनेका छन् ।
मन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच शुक्रबार भेटवार्ता भएको थियो ।
