`

‘शिरिषको फूल’मा शङ्कर लामिछानेको त्यो ‘भूमिका’

Nepal One HD १९ वैशाख २०८३ १५:२५
अध्यात्म

 

विष्णुकुमारी वाइबा अर्थात ‘पारिजात’ नेपाली साहित्यकी एक प्रतिष्ठित लेखिका हुन् । उनको जन्म १९३४ मा दार्जिलिङ, भारतमा भएको थियो र पछि उनी नेपाल आएर साहित्य साधनामा समर्पित भइन् । उनले आधुनिक नेपाली साहित्यमा विशेषगरी मनोवैज्ञानिक, अस्तित्ववादी र शून्यवादी धारालाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेकी छन् । उनको प्रसिद्ध कृति शिरीषको फूल नेपाली उपन्यास साहित्यको एक उत्कृष्ट उदाहरण मानिन्छ । जीवनभर स्वास्थ्य समस्यासँग संघर्ष गरेकी पारिजातले साहित्यलाई नै आफ्नो जीवनको आधार बनाइन् र १९९३ मा उनको निधन भयो । 

शङ्कर लामिछाने नेपाली आधुनिक निबन्ध साहित्यका एक विशिष्ट र प्रयोगशील लेखक हुन् । काठमाडौंमा जन्मिएका उनले नेपाली निबन्धलाई परम्परागत शैलीबाट आधुनिक, दार्शनिक र आत्मपरक धारातर्फ मोडे । उनको लेखनमा अस्तित्ववाद, मनोविश्लेषण र बौद्धिक चिन्तनको गहिरो प्रभाव देखिन्छ । एब्स्ट्र्याक्ट चिन्तन : प्याज उनको प्रसिद्ध निबन्धसंग्रह हो। जसले नेपाली साहित्यमा नयाँ चेतना ल्याएको मानिन्छ । उनी भाषा, शैली र विचारमा अत्यन्त नवीन थिए र नेपाली निबन्ध साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रयास गर्ने महत्वपूर्ण व्यक्तित्वका रूपमा चिनिन्छन् । 

यिनै शङ्कर लामिछानेले पारिजातको शिरिषको फूल उपन्यासमा लेखेको भूमीका जस्ताको त्यस्तै 

अल्छीलाग्दो एक अपराह्न। पसलमा बसेको छु, साथमा डेनिस एक चित्रकार छ । ऊ झन्डै वर्ष दिनदेखि काठमाडौंमा रुमल्लिरहेछ । यहाँको साहित्यिक तथा सांस्कृतिक वातावरणमा अलमलिएर । गरीब छ यस कारण चित्रकारिता अपनाएको छ,अथवा भनौं चित्रकार भएकोले नै गरीब छ। यस्तैमा आउँछिन् सुकन्या, यो उपन्यासकी लेखिकाकी बहिनी । एउटा चिट्ठी छ, र छ एउटा पाण्डुलिपि ।

पढ्छु-

‘पुतलीसडक, पौष २५, २०२२

शङ्करदाइ,

दुःख दियो नभन्नुहोला । एउटा उपन्यास लेखेकी छु र यसको भूमिका किन-किन तपाईंबाट नै बाँधिनुपर्छ भन्ने अठोट लागिसकेको छ मलाई । छाप्ने प्रयत्नमा छु । कृपया निराश नफर्काउनुहोला ।

सधन्यवाद !

तपाईंकी पारिजात ‘

सम्पूर्ण चिट्ठीमा मलाई आकर्षित गरे दुई शब्दले ‘किन-किन’ र ‘अठोट’ ले ।

पारिजातलाई म प्रेम गर्छु। कसोकसो एउटी बहिनीभन्दा बढी नै शायद प्रेमिका जत्ति नै, जोसँग आत्मीय संसर्ग होओस्, जोसँग यौनको सम्बन्ध तुच्छकर वा हेयकर लागोस्। र यौनलाई नअंगालेर यदि प्रेमको अर्गाज्म  (चरमसीमा) को कल्पना सम्भव छ भने, मैले उसलाई गरेको प्रेमको परिभाषा त्यही मात्र हुन सक्ला ।

अहँ, म मान्दिनँ !

यति आधुनिक उपन्यासकी लेखिकाका लागि मैले स्वयं दिएको परिभाषा खिइसकेका उपमाहरूमा आधारित छ । म एकदमै नयाँ उपमा दिन्छु । भन्छु- मास्सिन लागेको आफ्नो स्पिसिजको अन्तिम कडीप्रति अघिल्लो कडीको प्रेम हो मेरो । त्योसँग यत्ति आफन्ती सम्बन्ध छ कि न त प्रजनन नै सम्भव छ न त पर्याप्ति नै । एक मनले चाहन्छ यही मेरो स्वप्नको साकार रूप र अर्को मनले भन्छ यही नै हो पूर्णविराम ।.. र ‘शिरीषको कथा’… पख एक छिनपछि भन्छु ! हतार के छ ?

पारिजात आई पनि मेरो जीवनमा अनौठोसँग । लाइब्रेरियन भएको मेरो अवतारमा ऊ आफ्ना साथी-सङ्गाती लिएर उपस्थित भई । र भनी, ‘नेपालका लेखकहरूलाई, निश्चय पनि सबैलाई चिन्नुभएको छ । हामीलाई एक पटक शङ्कर लामिछानेसँग परिचय गराइदिनुहोस् ।’ मैले भन्ठानें यो मेरो जीवनको ठूलो ठट्टा हो तर ठट्टा होइन रहेछ, उनीहरूले साँच्ची नै लामिछानेलाई चिन्न खोजेका रहेछन् । म तीनछक परें । त्यस बेला पारिजात – पारिजात भइसकेकी थिइन । ऊ विष्णु वाइवा थिई ।

अनि ऊ पारिजात भई । यस ‘हुनु’ मा अनेक मानसिक, शारीरिक र रोमान्टिक (जसको मलाई पटक्क ज्ञान छैन । घटना भए, उसको जीवनमा । ऊ कवि बनी, प्रतिष्ठा पाई, ऊ रोगी बनी, अस्पताल भर्ना भई । (ऊ निराश बनी प्रेममा ? त्यो म जान्दिनँ !) मेरो जीवनमा पनि हेरफेर आए । म लेखकबाट जागीरे, जागीरेबाट साहित्यिक, साहित्यिकबाट साहित्य-प्रेमी र साहित्य-प्रेमीबाट व्यापारी बन्न पुगेँ । यत्ति हो- पैसा भएको बेला, नेपाली साहित्यको प्रगति र ह्रास बुझ्न म पत्रिका खूब किन्थेँ र गतिको बोध सकभर राख्ने प्रयास गर्थे ।

डेनिस चित्रकारले सोध्यो- ‘यो त पाण्डुलिपिजस्तो छ नि ?’

मैले भनेँ- ‘हो । यो पाण्डुलिपि हो ।’

‘अहिले आउनेले लेखेको ?’

‘होइन, उसकी दिदीले ।’

‘यो के, कथा ?’

‘होइन, उपन्यास ।’

‘छोटो देखिन्छ नि ?’

‘छाप्दा झन्डै ८०-९० पेज हुन जान्छ कि ?’

‘के उनी राम्री लेखिका हुन् ?’

(अङ्ग्रेजीमा उसको प्रश्न थियो- इज शी अ ब्यूटिफुल राइटर? विशेषणको प्रयोग कुन अर्थमा भएको हो भनी बुझ्न मैले उसको अनुहार हेरें । उसको अनुहार प्रश्नचिह्नको प्रतीक थियो !)

यहाँनिर, स्वाट्ट बोल्न म असमर्थ भएँ । गुनेँ, उसको प्रश्नमा कुनै व्यङ्ग्य मैले पाइनँ । भनें ‘हो, उनी मेरो युगकी अन्तिम लेखिका हुन् ।’

‘अर्थात्… ?’

‘तिमीले यहाँ केही काल राम्ररी बिताएका छौ भने र यहाँको वातावरण बुझ्न सकेका रहेछौ भने, तिमी युग छुट्टयाउन सक्छौ ।’

‘त्यो त म सक्छु ।’

‘उनी मेरो युगकी अन्तिम लेखिका र प्रथम कवयित्री हुन् ।’

‘उनको चर्चा मैले कहिले सुनिनँ ।’

‘मैले पनि त कहिले गरिनँ । नेपाली चर्चा गर्दैनन्, कटुता मात्र पोख्छन् ।’

‘हो, त्यो त मलाई पनि राम्रो थाहा भइसक्यो । ‘वार’ हरूमा यही त हुन्छ र साँच्चै भनूँ भने शङ्कर म नेपालका साहित्यिकहरू देखेर निराश भइसकें ।’

मैले व्यापारी मुस्कान प्रसारित गरिदिएँ । के भन्न सक्छु र ?…

शायद मैले लेखिरहेको यो कुरा भूमिका भएन । असलमा, म भूमिका लेख्नै जान्दिनँ । मेरो कुनै किताब अरु छापिएको छैन, तसर्थ भूमिकाको समस्या अझै मेरो सामु परेको छैन ।

र, मलाई लाग्दछ, मानिसले भूमिका कमै पढ्छन् । कमसेकम मैले आजसम्मन् पढेका किताबहरूमध्ये अन्दाजी सयकडा पच्चीसको मात्र भूमिका हेरेँ हुँला- पढेको म भन्दिनँ !…

त, पाण्डुलिपि मेरो हातमा पर्यो । साथै एक उत्साह पनि । एउटा औपन्यासिक कौमार्य समर्पण गरिएको छ मलाई !

किताबको नाम छ ‘शिरीषको फूल’ । र मचाहिँ शिरीषको फूल नै नचिनेको मान्छे । किताब पढुन्जेल मेरो आँखामा जराकाण्ड आइरह्यो- पछि थाहा पाएँ अङ्ग्रेजीमा यसलाई मिमोसा सिरिसा भन्दा रहेछन् । यी फूल पत्याइनसक्नु किसिमले राम्ररी फुल्छन् रे ।

र किताब पनि पत्याइनसक्नु किसिमले राम्रो छ । लेखिकाले मलाई अनुमति दिन्छिन् भने म यसलाई उपन्यास नभनेर काव्यन्यास भन्छु । यत्ति हो, यसमा कतैकतै गद्य छिर्न पुगेको छ- बस ।

पारिजात कविको रूपमा (अँ, कवयित्री मैले जानीजानी भनिनँ ! यो के वाहियात कुरा… सृष्टिकारको पनि लिङ्ग हुन्छ र ? लिङ्ग हुने त निर्माता मात्र !)

अँ, भन्दै थिएँ पारिजात कविको रूपमा आइन् हाम्रो समक्ष । उनका सृजना बराबर आँखाअघि आउँथे- गद्य पनि पद्य पनि । गद्यहरूमा कैयन् मन पराइन कसो-कसो । शायद आत्मीयताले होला; शायद कोमल पारिजातबाट सुकुमारीपन नै चाहेर होला ! तर ‘शिरीषको फूल’ बाट म तीनछक परें । (पारिजातैद्वारा जीवनमा दोस्रो पटक !)

‘शिरीषको फूल’ले हामीलाई विश्व-साहित्यको उपन्यासका क्यालेन्डरमा १९६६ मा पुऱ्याएको छ । उन्नाइसौं शताब्दीको ‘रूपमती’बाट बीसौं शताब्दीको प्रथम युद्धकालमा ‘मुलुकबाहिर’ले हामीलाई लग्यो, अनि द्वितीय विश्वयुद्धोत्तर कालमा पुर्याइन् ‘अनुराधा’ले । ‘शिरीषको फूल’ निश्चय पनि यही वसन्तमा फुलेको छ । मलाई खुशी छ अब हामी निर्धक्क अन्य भाषामा आफ्नो कृति उल्था गरेर हाँसीका पात्र बन्ने छैनौं ।

पाण्डुलिपि फूलस्केप साइजमा टाइप गरेका अक्षरमा सवा चवालीस पेजको छ । दैव जान्दछ छापिँदा यो कत्ति पेजको हुने हो तर यो सवा चवालीस पेजले मलाई चौरासी लाख जुनीको कष्ट दियो । प्रत्येक वाक्य पढ्नुअघि र पढिसकेपछि म दुई पटक हुरुक्क हुन्थे । ‘अब के भनिने हो’ भन्ने भावना अघिल्लो वाक्यका खुमारीमै जन्मी आउँथ्यो । आह, अघिल्लो दिनको ह्याङओभर (मदिरापश्चात् झुम्मिने अवस्था) मा ब्रेकफास्टअघि नै ब्रेन्डी खाएझैं प्रत्येक पेज पल्टाउँदा एक पीडा हुन्थ्यो, अज्ञात अवश्यम्भावी अन्ततिर म लम्किँदैछु भन्ने ।

मलाई पारिजातसँग रिस पनि उठ्यो । उपन्यास नै लेख्नु थियो भने किन उसले चार सय चवालीस पेजको लेखिन ! मेरो पीडा एक आनन्दमय परिपूर्णतातिर बहेको र मैले स्वयं चाहिँ एक वेदना बोकेको अनुभव गरें । असलमा पारिजातले मलाई एक अनौठो अनुभूति दिई । यो लेखिरहँदा म स्वयंलाई एक पूर्ण यौवना नारी अनुभव गर्दैछु ।

अघिसम्म मैले सोचेको थिएँ म अत्याधुनिक शैलीमा यस्तो एक उपन्यास (भनौं काव्यन्यास नै ?) लेख्नेछु जसबाट म स्वयं त अमर हुन्छु नै, मेरो उपन्यासले अरूको समेत आँखा उघारिदिनेछ । पारिजातले त्यही गरी, र म स्वयं पराजित भएको अनुभव गर्दैछु । अब उसलाई उछिन्न कि मैले बढी मेहनत गर्नुपर्‍यो कि त्यो विचार नै चटक्क छाड्नुपर्‍यो । के हुने हो, त्यो भविष्यले नै भन्ने छ । वर्तमान त पारिजातको हो !

वर्तमान त पारिजातको हो; तर पारिजात त वर्तमानलाई पनि सुयोगवीरको मुखबाट यसरी परिभाषा गर्न लगाउँछे, ‘जीवन असफलता हो, यो जीवन दुर्भाग्य हो…’

तर, पारिजात त भविष्यको परिभाषा पनि यसरी दिन्छे, ‘यो दुःखद जीवनको अन्त्य मृत्यु हो…’

मलाई लाग्दछ, पारिजातले ‘शिरीषको फूल’ पनि आसन बाँधेर शून्यबोध गरेकी छ ।

गणित-दर्शनमा जस्तो प्रत्येक आयामले आफूभन्दा उच्चतर एक अर्को आयामको अपेक्षा गर्छ नै, हुँदाहुँदा एक अनन्त आयामको क्रमबद्धता अवश्य पनि होला भन्ने निष्कर्ष हामीले अन्त्यमा अपनाउन बाध्यै हुनुपर्छ, उसै गरी हाम्रा भावनात्मक क्षितिजका प्रत्येक नवीन विस्तारले एक नयाँ अचिन्तित आयाम इङ्गित गर्दछन् ।

यसैको सन्दर्भमा डी. टी. सुजुकीको एक कथनको सम्झना हुन आउँछ मलाई ।

वज्रयान सम्प्रदायका डाकिनीहरू…

(…सुयोगवीरलाई सकमबरीले यही त अनुभूति दिई…)

‘परिमोक्ष’ का लागि जुन शक्ति तथा आक्रोशमय आवेगको आवश्यकता हुन्छ…

मैले अघि कतै भनेको थिएँ, ‘ज्ञान उपलब्धिको पथमा मानवमस्तिष्क कहिले पनि विश्राम गर्दैन ।’

शिवराज (शिवराज) का चरित्रचित्रणद्वारा पारिजात यही भन्छे ।

अनि सकमबरीको रङ्गलाई गाढा बनाउन दुई विभिन्न अमिल्दा रङ्गहरू टिपेकी छ पारिजातले— मुजुरामा र सानुमा ।

अब रह्यो उपन्यासको नायक, सुयोगवीर ।

र, सम्पूर्ण उपन्यासको पेन्टिङलाई फ्रेम गर्न पारिजातले छानेको छ साहुनीको प्रेमलीलालाई । असलमा पेन्टिङ फ्रेमबिना पनि पूर्ण हुन्छ, तथापि सुहाउँदो फ्रेमको छनौट पनि कलाकारको परिमार्जित सफलताको योतक हो ।

आज मेरी आमाको श्राद्धको दिन । घरमा पुरेतले श्राद्ध गर्दै होलान् । म चाहिँ यहाँ टुरिस्ट (पर्यटक) पर्खेर एक मनले, र एक मनले आत्मविभोर भई यो भूमिका लेख्दै छु । मेरो कथनमा कत्रो नास्तिकता झल्कँदै छ । तर नेपाल अधिराज्यमा यस वर्तमान क्षणका लागि म जस्तो धर्मात्मा कोही व्यक्ति छैन होला कारण, म र मेरी एउटी बहिनी मिलेर आमालाई ‘शिरीषको फूल’को भेटी चढाउँदै छौं ।  यसभन्दा बढी के हुन सक्छ, एक सुपुत्र र सुपुत्रीका लागि ?

काठमाडौं
मार्ग ४, २०२२

-शङ्कर लामिछाने

 

#शिरिषको फूल उपन्यासबाट साभार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *