राप्रपा त्यागेका रविकिरण हमालले भने– प्रधानमन्त्री बालेन कायर रहेछन्
काठमाडौं । जेन–जी अगुवा रविकिरण हमालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई ‘कायर’को संज्ञा दिएका छन् ।
विगतमा काठमाडौं महानगरपालिकाको प्रमुख छँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर राष्ट्रवादी बन्ने प्रयास गरेका उनले लिपुलेकमा सेना नपठाएर कायर प्रधानमन्त्री हुन् भन्ने प्रमाणित गरेको गम्भीर आरोप लगाएका हुन् ।
नेपाली भूमि लिपुलेकलाई नेपालको सहमतिबिना भारत–चीनले व्यापारिक कोरिडोरको रूपमा प्रयोग गर्न थाल्दा प्रधानमन्त्री बालेनको अस्वाभाविक मौनताप्रति टिप्पणी गर्दै भने, ‘प्रधानमन्त्री बालेन्द्रजी कायर देखियो ।’
सुकुम्बासीहरूमाथि प्रधानमन्त्री बालेनले अत्याचार गरेको भन्दै उनले कडा शब्दमा आलोचना पनि गरेका छन् । ‘सुकुम्बासीको विस्थापन होइन, व्यवस्थापन गर्नुपर्ने हो तर अहिले जसरी सेना उतारेर जे गर्नुभयो, त्यो सरासर लगत छ,’ उनले नेपालवान एचडीसँग भने ।
जेन–जी विद्रोह उचित भए पनि त्यसलाई अदृश्य शक्तिले घुसपैठ गरेर राजनीतिक लाभ लिएको भन्दै सोही शक्तिको प्रतिनिधि प्रधानमन्त्री बालेन बनेको उनको आरोप छ ।
उनले जेन–जी विद्रोहमा २३ भदौमा जेन–जीहरूलाई उक्साउने टीओबीसहित अन्य समूहलाई कारबाही सिफारिस नभएको र २४ गतेको घटनामा संलग्नहरूप्रति भने अनुसन्धान नै नगरी कार्की आयोगले प्रतिवेदन बुझाएको भन्दै हमालले गम्भीर विमती जनाए । उनले भने, ‘म निष्पक्ष अनुसन्धानको माग गर्दछु ।’
अर्को प्रसङ्गमा उनले देशमा राजसंस्था र हिन्दुराज्यको एजेन्डा असान्दर्भिक भएको बताएका छन् । गत निर्वाचनमा ३ प्रतिशत मत पनि राप्रपालाई प्राप्त नहुनले स्वतः राप्रपाको एजेण्डा जनमतबाट खारेज भएको तर्क गरे ।
उनले राप्रपाको एजेण्डा जनअनुमोदित नहुने निष्कर्षसहित राप्रपा छाडेको पनि घोषणा गरे ।
