बालेनलाई बालेनको निर्देशन(भिडियो)
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको अवस्था स्पष्ट गर्न गृह मन्त्रालयलाई विवरण बुझाउन निर्देशन दिएको छ।
अहिले गृहमन्त्रालय प्रधानमन्त्री शाहकै मातहतमा रहेको छ। गृहमन्त्रालय उनले आफैले चलाउछन्। उपत्यकाका सुकुमवासी भत्काउने क्रममा गृहमन्त्रालयले गर्नुपर्ने सबै काम आफै गरे।
प्रधानमन्त्री कार्यालयले हालै गरेको अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरिरहेको र कतिपयले विभिन्न निकायबाट दोहोरो सुविधा समेत लिइरहेको तथ्य फेला परेपछि गृह मन्त्रालयसँग पूर्ण विवरण माग गरिएको हो।
कार्यालयले पठाएको पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख तथा पूर्वराष्ट्रियसभा अध्यक्षहरूले उपभोग गरिरहेको सुविधाको विस्तृत विवरण आजै कार्यसमयभित्र इमेलमार्फत पठाउन निर्देशन दिइएको छ।
लामो समयदेखि पूर्वविशिष्टहरूले मापदण्डविपरीत सरकारी स्रोतसाधन दुरुपयोग गरिरहेको आलोचना भइरहेका बेला सरकारले देखाएको यो सक्रियता महत्वपूर्ण मानिएको छ। गृह मन्त्रालयबाट विवरण आएपछि मापदण्डभन्दा बढी सुविधा उपभोगकर्ताबाट सवारी साधन फिर्ता गराउने र समग्र प्रक्रियालाई व्यवस्थित बनाउने सरकारको तयारी रहेको बताइन्छ।
सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालय खाली छ।
गुरुङले विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी प्रकरण सार्वजनिक भएपछि नैतिकताको आधारमा राजीनामा दिएका थिए। तर राजीनामा दिएको १५ दिन बढी बित्दासमेत उनीमाथि छानबिन गर्ने सरकारको कुनै सुरसार छैन। उल्टै, छानबिन खोई ? खोलाले बगायो भन्ने जस्तै अवस्था बनेको छ। बरु प्रधानमन्त्री शाह गृहमन्त्री गुरुङलाई दोहोर्याउन चाहन्छन् भन्ने चर्चा भने हुन छाडेको छैन।
