`

बाढीपहिरोका कारण अवरुद्ध केही राजमार्ग सञ्चालन, केही अवरुद्ध

Nepal One HD २४ वैशाख २०८३ २२:२५
समाचार

काठमाडौँ। केही दिनदेखिको वर्षाका करण आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका केही राजमार्ग आजदेखि सञ्चालनमा आएका छन् भने केही मुख्य राजमार्ग अझै अवरुद्ध भएका छन् ।

यही वैशाख २१ गतेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालीका-६ चौकीडाँडा र रोशी गाउँपालिका-७ घुमाउने, ४०० बेँसीस्थित बिपी राजमार्ग तथा सल्यानको कुमाख गाउँपालिका-२ खरखरखोला र कोइरालाखोलास्थित सल्ली चौरजहारी सडकखण्ड आजदेखि सञ्चालनमा आएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख १२ गतेको बाढीका कारण अवरुद्ध भएको भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, २३ गतेको पहिरोका कारण अवरुद्ध बनेको मकालु गाउँपालिका-३ नयाँ बस्तीस्थित कोशी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

यही वैशाख २१ गतेको अविरल वर्षाका कारण इलामको रोङ गाउँपालिका-६ सलकपुरस्थित ङखेप हुँदै झापा जाने भित्री कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भई अझै सञ्चालनमा आउन नसकेको प्रवक्रा काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध भएका केही मुख्य राजमार्ग सञ्चालनमा आएका छन् भने केही राजमार्ग एकतर्फी सञ्चालन भएका छन् । काभ्रेपलाञ्चोक खुर्कोट-नेपालथोक-कटुञ्जेबेसी बिपी राजमार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।”

वर्षात्को समयमा बाढीपहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालन भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले सरोकार भएका सबैलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *