`

यस वर्ष कम वर्षा हुने,तापक्रम बढ्ने विभागको पूर्वानुमान

Nepal One HD २५ वैशाख २०८३ १४:४४
फिचर

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ । जेठ १८ देखि असोज १४ सम्म रहने मनसुन अवधिमा वर्षा कम हुने सम्भावना उच्च रहेको विभागले जनाएको हो ।

विभागका अनुसार, ‘यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।’

विभागका अनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ । यस्तै सुदूरपश्चिम प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका पश्चिमी भाग र कोसी प्रदेशका मध्य भूभागमा पनि कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

कर्णाली र कोसी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । बाँकी भूभागमा पनि सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ ।

तापक्रमतर्फ विभागले अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने स्पष्ट पारेको छ । विभागको भनाइमा, “अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना देखिएको छ ।”

सुदूरपश्चिम प्रदेशका उत्तर–पूर्वी भूभागमा तापक्रम बढ्ने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ । त्यस्तै कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेशका विभिन्न भूभागमा पनि अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको उल्लेख गरिएको छ ।

न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने विभागले बताएको छ । विभागका अनुसार, ‘न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।’

विभागका अनुसार अघिल्लो वर्ष गरिएको पूर्वानुमान धेरै हदसम्म मिलेको थियो । गत वर्ष देशका धेरै स्थानमा सरदरभन्दा कमदेखि सरदर वर्षा मापन भएको तथा तापक्रमसमेत अनुमानअनुसार नै बढी देखिएको विभागले जनाएको छ ।

विभागको पूर्वानुमान

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *