लोघेकर दामोदरकुण्डद्वारा सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोग
मुस्ताङ। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ ।जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम गर्दै सौर्य ऊर्जा प्रणालीमार्फत गाउँपालिकाको आर्थिक भार कम गराउने उद्देश्यले हरित सौर्य ऊर्जा प्रयोगमा ल्याएको हो ।
गाउँपालिकाले हरित ऊर्जा प्रयोगमा ल्याएसँगै हरित ऊर्जा घोषणा गर्ने तयारी गरेको छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता संरक्षण तथा वातावरणीय प्रदूषणले मानव स्वास्थ्य असर पुग्ने र जलवायु परिवर्तनको असरले पारिस्थिति प्रणाली (इको सिस्टम) मा प्रभाव पार्ने भएकाले हरित ऊर्जा प्रविधि उपयोगी हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाद्वारा कार्यान्वयनमा ल्याइएको सौर्य ऊर्जा प्रविधिको हरित ऊर्जा विकासले पालिकाभित्रका नागरिकलाई सकारात्मक प्रभाव पार्ने गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गर्नुभयो ।
बढ्दो कार्बन उत्र्सजनलाई घटाउन यसप्रकारका प्रविधि उपयोगी हुने उहाँको बुझाइ छ । हरित ऊर्जा विकासका लागि गाउँपालिकाले पालिकालाई आवश्यक पर्ने सौर्य ऊर्जा क्षमता व्यवस्थापन गर्न बेट्री, सोलार प्यानललगायत आवश्यक उपकरणको व्यवस्थापन गरिसकेको छ ।
यो प्रविधिबाट हरित ऊर्जा प्रयोगमा आएसँगै पालिकाभित्रका सबै प्रशासनिक शाखामा विद्युतीय कार्य गर्न हरित ऊर्जा प्रयोग गरिने अध्यक्ष विष्टले बताउनुभयो । हरित ऊर्जा प्रविधिको प्रयोगले गाउँपालिकाको कार्यसम्पादनलाई सहज र विश्वसनिय बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाले यो प्रविधिलाई पाँचवटै वडा कार्यालय र स्वास्थ्य संस्थामा पु¥याउने लक्ष्य लिएको छ । वातावरणीय जोखिम कम गर्दै दिगो विकासमा जोड दिने सरकारको दीर्घकालीन लक्ष्यअनुसार हरित सौर्य ऊर्जा प्रविधि जडान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
