`

श्रममन्त्रीको सचिवालयमा कार्यरत मियाँ पक्राउ

Nepal One HD २९ वैशाख २०८३ १२:५८
अर्थ समाचार

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ गम्भीर आपराधिक कसुरमा पक्राउ परेका छन्।

सप्तरीको महादेवा गाउँपालिका–१ बल्थी घर भई हाल राजविराज नगरपालिका–३ पाख्रेल टोल बस्ने २७ वर्षीय मियाँलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा सोमबार राजविराजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार मियाँसहितको समूहले २०८२ फागुन १४ गते राजविराज नगरपालिका–३ हनुमान चोकमा राजु कुमार चौधरीलाई अपहरण गरी लुटपाट गरेको आरोप छ। सो दिन बिहान करिब ८ बजे मियाँसहित ३ जना व्यक्तिले मोटरसाइकल प्रयोग गरी अपहरणको योजना कार्यान्वयन गरेका थिए।

पीडितका अनुसार उनीहरूलाई बन्दुक देखाएर नियन्त्रणमा लिई राजविराज नगरपालिका–८ स्थित सुनसान क्षेत्रमा लगिएको थियो। त्यहाँ कुटपिट गर्दै मोबाइल, २ तोला सुनको सिक्री र १ लाख ३० हजार रुपैयाँ लुटिएको बताइएको छ। साथै, अमानवीय व्यवहार गर्दै अपमानित गरिएको पनि पीडितको आरोप छ।

यस घटनामा संलग्न अन्य ३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत सप्तरीले वैशाख २४ गते मियाँविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो।

प्रहरीका अनुसार मियाँविरुद्ध अपहरण तथा शरीर बन्धक, अमानवीय व्यवहार तथा लुटपाटसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी अर्को मुद्दा समेत रहेको र त्यसमा पनि उनी फरार रहेको बताइएको छ।

मियाँ हालै मात्र २०८२ चैत २७ गते मन्त्री यादवको सचिवालयमा हलुका सवारी चालक पदमा नियुक्त भएका थिए।

WhatsApp Image 2026-05-12 at 11.36.19

WhatsApp Image 2026-05-12 at 11.36.18

WhatsApp Image 2026-05-12 at 11.36.29


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *