`

अर्थमन्त्री वाग्लेले ‘सदनमा निदाएको’ आरोपबारे भने – ‘अर्जेन्ट म्यासेज आयो हेर्दै थिएँ’

Nepal One HD २९ वैशाख २०८३ १३:३९
अर्थ समाचार

काठमाडौं।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला आफू निदाएको भन्ने सामाजिक सञ्जालमा आएको आरोपको खण्डन गरेका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला अर्थमन्त्री वाग्ले निदाएको जस्तो देखिएको भिडिओ सार्वजनिक भएपछि आलोचना भएको थियो।

मंगलबार एक संसदीय समिति बैठकमा आफैंले उक्त प्रसंग उठाउँदै उनले आफू निदाएको नभएको स्पष्ट पारे।

उनले भने, ‘अर्थमन्त्री निदायो भनेर एकदम भाइरल भएको छ। जे देखिन्छ त्यही यथार्थ नहुन पनि सक्छ भन्ने चेत यहाँहरुले पनि राखिदिनुहोला।’

उनका अनुसार आफूले मोबाइलमा आएका तत्कालीन सन्देश (म्यासेज) हेरेको कारण टाउको झुकाएको देखिएको हो। उनले राष्ट्रपतिको उपस्थितिमा फोन उठाउनु उपयुक्त नहुने भएकाले टेबलमुनि मोबाइल हेरेको बताए।

वाग्लेले भने, ‘अर्जेन्ट म्यासेजहरु आइरहेका थिए, त्यसैले घोप्टो परेर मोबाइल हेरिरहेको थिएँ। अर्थमन्त्री निदायो भनेर दशौं लाखलाई रमिता भएको छ। जे देखिन्छ, त्यो नै सधैं यथार्थ हुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *