रोष्ट्रमबाट प्रचण्डले भने : ‘यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन गर्यौं।’
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो दलको निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा आज सम्बोधन गर्दै उनले यो उपलब्धिलाई संघर्ष, क्रान्ति र बलिदानको परिणामका रूपमा व्याख्या गरे।
उनले भने, ‘परिणामका दृष्टिले सानो ठूलो जो–जे सुकै भए पनि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्वपूर्ण छ, महत्वपूर्ण रहनेछ।’
प्रचण्डले संसदमा भएको समावेशी उपस्थितिलाई ऐतिहासिक उपलब्धि भन्दै त्यसलाई ‘रगतले लेखिएको कथा’ को रूपमा चित्रण गरे।
उनले भने, ‘यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ। क्रान्तिले लेखिएको छ। पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ।’
उनका अनुसार संसद भवन केवल भौतिक संरचना नभई ऐतिहासिक आन्दोलन र बलिदानको प्रतीक हो।
उनले भने, ‘बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं सहिदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन गर्यौं।’
उनले थपे, ‘यो भवनको जगमा त्यही शहादत छ। यसका हरेक भित्ता बलिदानले रंगिएका छन्। म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका सहिद, बेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।’
सम्बोधनका क्रममा उनले वर्तमान राजनीतिक नेतृत्व र नयाँ शक्तिहरूको निर्वाचन सफलताको पनि प्रशंसा गरे।
उनले भने, ‘हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झण्डै दुई तिहाइको सफलता पाएको छ। त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाई छ।’
प्रचण्डले आफूलाई निर्वाचित गर्ने रुकुम पूर्वका मतदाताप्रति आभार व्यक्त गर्दै संसदमा आएका सबै सांसदलाई शुभकामना दिएका छन्। साथै उनले बलिदान र आन्दोलनलाई बिर्सिए लोकतान्त्रिक संरचना कमजोर हुन सक्ने चेतावनी पनि दिएका छन्।
