`

मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना

Nepal One HD ३० वैशाख २०८३ १९:५८
समाचार

म्याग्दी। बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की संरचना निर्माण थालिएको छ ।

जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कास्कीले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण सुरु गरेको हो । परियोजनाका ईञ्जिनियर नरजङ गुुरुङले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन लागिएको जानकारी दिनुभयो ।

उक्त आयोजना निर्माणका लागि भैरवी इन्जिनियरिङ प्रालीसँग २०८२ फागुुन १० गते रु ९९ लाख १९ हजार २९५ मा ठेक्का सम्झौता भएको थियो । यही असार १९ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको छ ।

निर्धारित समयभित्र नै आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले उपकरण र मजदुुर परिचालन गरेको छ । नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावीयन पर्खाल बनाइने भएको हो ।

यसअघि मङ्गलाघाटमा आयोजनामार्फत विभिन्न चरणमा ५०० मिटरभन्दा बढी लामो पर्खाल निर्माण भइसकेको छ । बेनी बजारको पश्चिमी भागमा रहेको मङ्गलाघाटमा २०० भन्दाबढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् । आयोजनाले बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न विगतदेखिनै सञ्चालन गरेको छ । बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा राखेको छ ।

आयोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको जोखिममा रहेका म्याग्दी, मुुस्ताङ र पर्वतका १७ स्थानमा सालबसाली योजना निर्माणाधिन रहेका बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *