`

ट्रम्पको चीन भ्रमण : बेइजिङमा के के भयो ?

रामचन्द्र जाेशी १ जेठ २०८३ १५:०५
फिचर

काठमाडौं। डोनाल्ड ट्रम्प र सी जिनपिङबीचको दुई दिने बहुप्रतिक्षित शिखर वार्ता शुक्रबार दिउँसो सम्पन्न भएको छ । वार्ता सकिएसँगै ट्रम्प बेइजिङबाट वाशिङ्टन फर्किएका छन् । 

बेइजिङस्थित झोङनानहाई नेतृत्व परिसरमा भएको अन्तिम बैठकपछि दुवै पक्षले व्यापार, इरान, ताइवान तथा रणनीतिक सहकार्यका विभिन्न विषयमा महत्वपूर्ण प्रगति भएको बताएका छन् ।

वार्तापछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै ट्रम्पले भ्रमणलाई ‘अविश्वसनीय’ बताएका छन् । 

‘हामीले धेरै यस्ता समस्याहरू समाधान गरेका छौं, जुन अरूले समाधान गर्न सक्दैनथे,’ उनले भने ।

ट्रम्पले दुई देशबीच ‘शानदार व्यापार सम्झौता’ भएको दाबी पनि गरेका छन् । अमेरिकी व्यापार प्रतिनिधिका अनुसार अमेरिका-चीन व्यापार युद्धविरामलाई थप विस्तार गर्ने सम्भावना देखिएको छ ।

पछिल्ला वर्षहरूमा शुल्क वृद्धि, प्रविधि प्रतिबन्ध र आपूर्ति शृंखलासम्बन्धी विवादले दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । तर पछिल्लो शिखर वार्ताले कम्तीमा तत्कालका लागि तनाव कम गर्ने संकेत दिएको विश्लेषण गरिएको छ ।

वार्ताको अर्को महत्वपूर्ण विषय इरानको आणविक कार्यक्रम र स्ट्रेट अफ हर्मुजमा बढ्दो तनाव थियो ।

अमेरिकी पक्षका अनुसार दुवै नेताले इरानले आणविक हतियार विकास गर्न नहुने र हर्मुज जलडमरू खुला रहनुपर्ने विषयमा समान धारणा राखेका छन् । फक्स न्युजले ट्रम्पलाई उदृत गर्दै लेखेको छ, ‘इरानका लागि मेरो धैर्य सकिँदै छ । उनीहरूले सम्झौता गर्नुपर्छ ।’

हालै युएई नजिक इरानले भारतीय मालवाहक जहाज नियन्त्रणमा लिएपछि क्षेत्रीय तनाव थप चर्किएको छ । इरानको संवर्धित युरेनियम कार्यक्रमबारे ट्रम्पले विवादास्पद अभिव्यक्ति दिँदै ‘यो धेरै हदसम्म जनसम्पर्कका लागि गरिएको गतिविधि हो’ भनेका छन् । आवश्यक परे सैन्य कारबाहीको विकल्प खुला रहेको संकेत पनि उनले दिएका छन् ।

अमेरिकी व्यापार प्रतिनिधिले चीन इरानको विषयमा “व्यावहारिक” रहेको र तेहरानलाई दिइने भौतिक सहायता सीमित गर्न बेइजिङले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

ताइवान सम्बन्धी विषय पनि शिखर वार्ताको संवेदनशील एजेन्डामध्ये एक थियो । अमेरिका र चीनबीच लामो समयदेखि ताइवानकै विषयलाई लिएर तनाव रहँदै आएको छ । वार्ताका क्रममा दुवै पक्षले आफ्नो नीति अपरिवर्तित रहेको स्पष्ट पारेका छन् ।

चिनियाँ राष्ट्रपति सीले ताइवानबारे चीनको नीति परिवर्तन नभएको बताएका छन् भने अमेरिकी पक्षले पनि आफ्नो रणनीतिक धारणा यथावत् रहेको जनाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यससँगै अमेरिकाले चीनमा हिरासतमा रहेका केही व्यक्तिको रिहाइका विषयमा सकारात्मक कदमको अपेक्षा पनि गरेको छ ।

दुर्लभ पृथ्वी खनिज को निर्यातसम्बन्धी विषयमा पनि छलफल भएको छ । अमेरिकी व्यापार प्रतिनिधिका अनुसार चीनबाट दुर्लभ खनिज पदार्थको निर्यातमा केही सुधार आएको छ । तर इजाजतपत्र स्वीकृतिमा ढिलाइ भइरहेकाले अमेरिकी अधिकारीहरूले कम्पनीहरूको तर्फबाट हस्तक्षेप गर्नुपरेको अवस्था रहेको जनाइएको छ ।

अक्टोबर २०२५ मा चीनले लागू गरेको निर्यात नियन्त्रणपछि दुर्लभ खनिज आपूर्ति विश्वव्यापी रणनीतिक मुद्दा बनेको थियो । हालैको समझदारीपछि दुवै पक्षले यस्ता सामग्रीको ढुवानी सहज बनाउने प्रयास गरिरहेका छन् ।

वार्ताको अन्तिम दिन बिहान दुवै नेता झोङनानहाईको बगैंचामा करिब १० मिनेट सँगै हिँडेका थिए । त्यसपछि उनीहरूबीच कार्यगत चिया बैठक र बन्द भोजन कार्यक्रम आयोजना गरिएको थियो ।

बेइजिङका केही स्थानीय बासिन्दाले ट्रम्पलाई “अप्रत्याशित” शैलीको राजनीतिज्ञका रूपमा टिप्पणी गरेका छन् । उनीहरूले सार्वजनिक अभिव्यक्ति र वास्तविक रणनीतिबीच फरक देखिने गरेको बताएका छन् ।

यसैबीच ट्रम्पले सामाजिक सञ्जालमार्फत सीले गरेको ‘अमेरिका घट्दो राष्ट्र हो’ भन्ने टिप्पणी आफूलाई नभई पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेन लक्षित भएको स्पष्ट पारेका छन् ।

दुई दिने अमेरिका-चीन शिखर वार्ताले व्यापार युद्धविरामलाई निरन्तरता दिने, इरानको आणविक महत्वाकांक्षामाथि निगरानी राख्ने तथा दुर्लभ खनिज आपूर्ति सहज बनाउने विषयमा सकारात्मक संकेत दिएको छ ।

तर ताइवान, मानवअधिकार, कैदी विमोचन तथा इरानमाथिको सम्भावित अमेरिकी दबाबजस्ता विषय अझै पूर्ण रूपमा समाधान भइसकेका छैनन् । त्यसैले वार्ताले तत्काल तनाव कम गरे पनि दीर्घकालीन रणनीतिक प्रतिस्पर्धा भने कायम रहने संकेत देखिएको विश्लेषण गरिएको छ ।

ट्रम्प ९ वर्षपछी चीन भ्रमणमा गएका हुन्। यसअघि उनले सन् २०१७ मा चीनको भ्रमण गरेका थिए। 

(अन्तराष्ट्रिय संचारमाध्यमको सहयोगमा तयार गरिएको)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *