मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा: के-के व्यवस्था हेरफेर ? (पूर्णपाठ)
काठमाडौं। नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (स्ट्यान्डिङ डिपोजिट फेसिलिटी) उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन यस्तो कदम चाल्ने जनाएको हो ।
समीक्षामा उल्लेख गरिएको छ, ‘ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिनेछ ।’
राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति केन्द्रीय बैंकको लक्ष्यअनुसार नै रहने अनुमानका आधारमा न्यून आर्थिक वृद्धिको अवस्थालाई ध्यानमा राख्दै चालु आर्थिक वर्षदेखि अपनाइएको लचिलो मौद्रिक नीतिको कार्यदिशा निरन्तर रहनेछ ।
यसैगरी ब्याजदर करिडोर, बैंक दर, अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्था भने यथावत् राखिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
पूर्णपाठ पढ्नुहोस् :
पृष्ठभूमि
अर्थतन्त्रको दिगो आर्थिक विकासका लागि मूल्य र शोधनान्तर स्थिरता एवं वित्तीय स्थायित्व कायम गर्दै आर्थिक वृद्धिलाई सहयोग पु¥याउने मूलभूत उद्देश्यका साथ आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति २०८२ असार २७ गते जारी गरिएको थियो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा २०८२ मंसिर १५ र अर्धवार्षिक समीक्षा २०८२ फागुन १२ गते सार्वजनिक गरिएको थियो।
आर्थिक वर्ष २०८२÷८३ मा आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान छ । मुद्रास्फीति लक्ष्यभन्दा कम छ । विप्रेषण आयको बढोत्तरीले चालु खाता र शोधनान्तर बचत उल्लेख्य रहनुको साथै विदेशी विनिमय सञ्चिति यथेष्ट रहेको छ । यद्यपि, पछिल्लो समय पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ, रासायनिक मल र औद्योगिक कच्चा पदार्थलगायतको आयातमा देखिएको अवरोध तथा मूल्य वृद्धिले अर्थतन्त्र प्रभावित हुन थालेको छ।
वित्तीय प्रणालीमा न्यून ब्याजदर सहित लगानीयोग्य तरलता पर्याप्त रहेतापनि समष्टिगत मागमा अझै अपेक्षित सुधार आउन सकेको छैन । २०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट नयाँ सरकार गठन भई शासकीय एवं आर्थिक सुधारका कार्यहरू थालनी गरिएकाले लगानी अभिवृद्धि भई समष्टिगत माग र आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने यस बैंकको अपेक्षा रहेको छ।
यस पृष्ठभूमिमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा भएको मौद्रिक नीतिको कार्यान्वयन स्थिति, समष्टिगत आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरिएको छ।
विश्व अर्थतन्त्रको स्थिति र परिदृश्य
२०८२ फागुन १६ देखि सुरु भएको पश्चिम एसियाको तनावले विश्व आपूर्ति श्रृङ्खला प्रभावित भएको छ । यस अवधिमा पेट्रोलियम पूर्वाधारमा भएको क्षति एवं स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोधका कारण कच्चा तेलको मूल्य औसतमा ५० प्रतिशतले वृद्धि भएको छ । समग्रमा आयातित वस्तुहरूको मूल्य बढेका कारण विश्व मुद्रास्फीति र आर्थिक वृद्धि प्रभावित भएको छ । सन् २०२५ मा विश्व मुद्रास्फीति ४.१ प्रतिशत रहेकोमा सन् २०२६ मा ४.४ प्रतिशत पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ।
विश्व बजारमा २० प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थको हिस्सा रहेको यस क्षेत्रको तनावले विश्व अर्थतन्त्र अनिश्चिततातर्फ धकेलिएको कोषको विश्लेषण छ । सन् २०२६ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत कायम हुने प्रक्षेपण रहेकोमा युद्धका कारण ३.१ प्रतिशत रहने प्रक्षेपण छ । पश्चिम एसियाको तनाव तत्काल समाधान नभए विश्वले आर्थिक मन्दी र उच्च मुद्रास्फीतिको सामना गर्नुपर्ने कोषको विश्लेषण छ।
सन् २०२६ मा विकसित र उदीयमान तथा विकासोन्मुख मुलुकहरूको आर्थिक वृद्धि क्रमशः १.८ प्रतिशत र ३.९ प्रतिशत कायम हुने प्रक्षेपण छ । छिमेकी मुलुकहरूमध्ये भारतको आर्थिक वृद्धि ६.५ प्रतिशत र चीनको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण छ।
भूराजनीतिक तनाव र इन्धनको मूल्य वृद्धिसँगै विश्व मुद्रास्फीतिमा चाप पर्दै गए तापनि हाललाई विश्वका प्रमुख केन्द्रीय बैंकहरूले नीतिगत दर यथावत् कायम राखेका छन्।
आन्तरिक आर्थिक तथा वित्तीय स्थिति
मुद्रास्फीति
२०८२ चैतमा वार्षिक विन्दुगत मुद्रास्फीति ४.४७ प्रतिशत रहेको छ । २०८१ चैतमा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ४.०१ प्रतिशत एवं गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ।
२०८२ चैतमा थोक मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकाङ्क २.६० प्रतिशतले बढेकोमा २०८२÷८३ को सोही अवधिमा ६.३० प्रतिशतले बढेको छ।
बाह्य क्षेत्र
आर्थिक वर्ष २०८२÷८३ को नौ महिनामा कुल वस्तु निर्यात १८.५ प्रतिशतले वृद्धि भई रु. २ खर्ब २२ अर्ब ९४ करोड पुगेको छ । यस अवधिमा वस्तु आयात १३.८ प्रतिशतले वृद्धि भई रु. १४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १३.० प्रतिशतले वृद्धि भई रु. १२ खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.४ प्रतिशतले वृद्धि भएको थियो।
आर्थिक वर्ष २०८२÷८३ को नौ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशत (अमेरिकी डलरमा ३१.९ प्रतिशत) ले वृद्धि भई रु. १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह १०.२ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा अवधिमा चालु खाता रु. ६ खर्ब १८ अर्ब ६८ करोडले र शोधनान्तर रु. ७ खर्ब ३१ अर्ब १६ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु. २ खर्ब २२ अर्ब ६७ करोड र शोधनान्तर रु. ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको थियो । फलस्वरूप, कुल विदेशी विनिमय सञ्चिति २०८२ चैतमा रु. ३४ खर्ब ९४ अर्ब ७३ करोड (अमेरिकी डलरमा २३ अर्ब ५५ करोड) पुगेको छ।
सरकारी वित्त
आर्थिक वर्ष २०८२÷८३ को नौ महिनासम्ममा चालु खर्च रु. ७ खर्ब ४७ अर्ब ५२ करोड, पुँजीगत खर्च रु. ९६ अर्ब २० करोड र वित्तीय व्यवस्था खर्च रु. २ खर्ब १६ अर्ब २३ करोड गरी नेपाल सरकारको कुल खर्च रु. १० खर्ब ५९ अर्ब ९५ करोड भएको छ । यस अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु. ८ खर्ब ८६ अर्ब २८ करोड भएको छ । समीक्षा अवधिमा सरकारी खर्च गत वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशतले र राजस्व परिचालन ६.६ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्ममा नेपाल सरकारले रु. २ खर्ब ८३ अर्ब ६७ करोड आन्तरिक र रु. ६४ अर्ब ४९ करोड बाह्य गरी कुल रु. ३ खर्ब ४८ अर्ब १६ करोड सार्वजनिक ऋण परिचालन गरेको छ । यस अवधिमा रु. १ खर्ब ६३ अर्ब ७८ करोड आन्तरिक ऋण र रु. ४० अर्ब ३९ करोड बाह्य ऋण गरी रु. २ खर्ब ४ अर्ब १७ करोड सार्वजनिक ऋण भुक्तानी भएको समेतलाई गणना गर्दा आन्तरिक र बाह्य गरी खुद रु. १ खर्ब ४३ अर्ब ९९ करोड सार्वजनिक ऋण परिचालन भएको छ।
मौद्रिक तथा वित्तीय क्षेत्र
आर्थिक वर्ष २०८२÷८३ को नौ महिनामा विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्राप्रदाय ६.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ८.५ प्रतिशतले वृद्धि भई रु. ७८ खर्ब ७९ अर्ब ५४ करोड पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भई रु. ५८ खर्ब ९ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले वृद्धि भएको थियो।
२०८२ चैत महिनामा निक्षेपको भारित औसत ब्याजदर वाणिज्य बैंकको ३.४० प्रतिशत, विकास बैंकको ३.७७ प्रतिशत र वित्त कम्पनीको ४.७४ प्रतिशत कायम रहेको छ भने कर्जाको भारित औसत ब्याजदर वाणिज्य बैंकको ६.७७ प्रतिशत, विकास बैंकको ७.९६ प्रतिशत र वित्त कम्पनीको ९.२६ प्रतिशत कायम रहेको छ।
यस बैंकमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत बैंकिङ प्रणालीको तरलता प्रशोचनबाट २०८३ वैशाख मसान्तमा रु. १० खर्ब २८ अर्ब ६० करोड मौज्दात रहेको छ।
समीक्षा अवधिमा यस बैंकले वाणिज्य बैंकहरूबाट अमेरिकी डलर ५ अर्ब २७ करोड खुद खरिद गरी रु. ७ खर्ब ५७ अर्ब ७७ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर खुद खरिदमार्फत रु. ४ खर्ब ८४ अर्ब ७१ करोड तरलता प्रवाह भएको थियो।
मौद्रिक नीतिको कार्यान्वयन स्थिति
आर्थिक वर्ष २०८२÷८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.० प्रतिशतभित्र सीमित राख्ने लक्ष्य रहेकोमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा औसत मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ।
कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८२ चैतमा कायम सञ्चितिबाट १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूसँग तरलता उल्लेख्य रहे तापनि खुला बजार कारोबारबाट तरलता प्रशोचन निरन्तर भइरहेका कारण २०८२ चैतमा बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर ब्याजदर करिडोरभित्रै रहेको छ।
आर्थिक वर्ष २०८२÷८३ का लागि जारी गरिएको मौद्रिक नीति तथा सोको पहिलो त्रैमासिक समीक्षा र अर्धवार्षिक समीक्षाबाट गरिएका अधिकांश नीति तथा कार्यक्रमहरू कार्यान्वयनमा आइसकेका छन्।
आर्थिक तथा वित्तीय परिदृश्य
आर्थिक वर्ष २०८२÷८३ मा आन्तरिक तथा बाह्य दबाबका बावजुद आर्थिक वृद्धि ३.८५ प्रतिशत कायम रहने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान छ । यसमध्ये मौसम प्रतिकूलता र प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमात्र रहे तापनि उद्योग क्षेत्रको वृद्धिदर ५.६७ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४.२१ प्रतिशत कायम हुने प्रारम्भिक अनुमान छ । चालु आर्थिक वर्ष कुल गार्हस्थ उत्पादनमा लगानीको हिस्सा बढेको छ । क्षेत्रगत उत्पादनमध्ये थोक तथा खुद्रा व्यापार, आन्तरिक तथा बाह्य पर्यटन, जलविद्युत्, वित्तीय तथा बीमा, यातायात तथा भण्डारण र सूचना प्रविधिको क्षेत्र विस्तार हुँदै गएकोले समष्टिगत मागमा क्रमिक सुधार हुने अनुमान छ । सरकारले शासकीय, आर्थिक तथा कानुनी सुधारमा प्राथमिकता दिएकोले विद्यमान मौद्रिक कार्यदिशाको निरन्तरता समेतबाट लगानी अभिवृद्धि भई आर्थिक क्रियाकलाप विस्तारमा सघाउ पुग्ने अपेक्षा छ।
मुद्रास्फीति यस बैंकको लक्ष्यभन्दा न्यून रहेको छ । तथापि, विश्व भूराजनीतिक तनाव जारी रहेमा मुद्रास्फीतिमा चाप पर्ने जोखिम छ । पश्चिम एसियामा युद्ध सुरु भएयता पेट्रोलियम पदार्थ, उद्योगको लागि आवश्यक कच्चा पदार्थ र कतिपय उपभोग्य वस्तुहरूको आपूर्ति श्रृङ्खला प्रभावित भएको छ । यस अवधिमा (२०८२ फागुन १६ देखि २०८३ वैशाख ३१ सम्म) नेपालमा पेट्रोलको मूल्य ३५ प्रतिशत र डिजेलको मूल्य ५८ प्रतिशतले बढेको छ । यद्यपि, आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्मको औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत रहेकोले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्र रहने प्रक्षेपण छ।
अर्थतन्त्रको बाह्य क्षेत्र सहज स्थितिमा छ । चालु आर्थिक वर्षको नौ महिनासम्म विप्रेषण आप्रवाह उल्लेख्य विस्तार भएकोले चालु खाता, शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति बढ्दो क्रममा रहेको छ । तर, नेपालमा करिब ४० प्रतिशत विप्रेषण आप्रवाह पश्चिम एसियाबाट प्राप्त हुने गरेकोले सो क्षेत्रमा जारी तनाव कायम रहेमा विप्रेषण आप्रवाह प्रभावित हुने र इन्धन तथा आयातित वस्तुको मूल्य वृद्धि भई व्यापार घाटा विस्तार हुने समेतका कारण विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने जोखिम छ । तथापि, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता यस बैंकको लक्ष्यभन्दा माथि रहने प्रक्षेपण छ।
बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य बढे तापनि आर्थिक गतिविधि सुधारसँगै यस्तो कर्जामा सुधार आउने अपेक्षा छ । २०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्डभित्रै रहेको छ । समग्रमा वित्तीय स्थायित्व कायम छ।
विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति रहँदै आएको छ । यसरी वित्तीय प्रणालीमा लामो समय अधिक तरलता रहँदा विभिन्न समष्टिगत आर्थिक परिसूचकमा पर्न सक्ने प्रभावलाई व्यवस्थापन गर्न आवश्यक कदमका लागि बैंक सजग रहेको छ।
नीतिगत व्यवस्था
विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति यस बैंकको लक्ष्यअनुरूप नै रहने प्रक्षेपणको आधारमा न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गरी चालु आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ।
ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत् कायम गरिएको छ।
ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिनेछ।
अन्त्यमा,
चालु आर्थिक वर्षको मौद्रिक नीति र सोको समीक्षाहरूमा गरिएका व्यवस्थाहरूबाट मूल्य, बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा रहेको छ । मौद्रिक नीतिको समीक्षाका क्रममा प्रत्यक्ष÷परोक्ष सहयोग पु¥याउने सबै सरोकारवालाहरूलाई यस बैंक धन्यवाद ज्ञापन गर्दछ । साथै, मौद्रिक नीतिको कार्यान्वयनमा सदैव सबैको सहयोग रहने यस बैंकको विश्वास रहेको छ ।
