बागमती प्रदेशमा १० महिनामा ३१ अर्बभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा कुल ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारका अनुसार घरजग्गा रजिष्ट्रेसन शुल्क र सवारीसाधन कर राजस्वको प्रमुख स्रोत बनेका छन् ।
आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालका अनुसार घरजग्गा रजिष्ट्रेसन तथा सवारीसाधन करबाट बाँडफाँटमार्फत साउनदेखि वैशाखसम्म २० अर्ब एक करोड तीन लाख ८९ हजार रुपैयाँ प्राप्त भएको छ । यसले प्रदेशको कुल राजस्वमा सबैभन्दा ठूलो हिस्सा ओगटेको देखिन्छ ।
त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त समानीकरण अनुदानमार्फत १० महिनाको अवधिमा सात अर्ब ९४ करोड २७ लाख ५६ हजार रुपैयाँ प्रदेशमा भित्रिएको छ । प्रदेश सरकारले आफ्नै आन्तरिक स्रोतबाट भने तीन अर्ब २४ करोड ५२ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आर्थिक गतिविधिमा आएको सुस्तीले राजस्व संकलन प्रभावित भएको छ । विशेषगरी घरजग्गा कारोबार र नयाँ सवारीसाधन खरिद-बिक्रीमा कमी आउनु यसको प्रमुख कारण मानिएको छ ।
त्यसैगरी, गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रदेशका विभिन्न राजस्व संकलन गर्ने निकायमा क्षति पुगेकाले पनि अपेक्षित राजस्व उठ्न नसकेको अधिकृत सञ्ज्यालले बताएका छन् ।
समग्रमा, बागमती प्रदेशले उल्लेख्य रकम संकलन गरे पनि लक्ष्यअनुसारको राजस्व हासिल गर्न विभिन्न आर्थिक तथा प्रशासनिक चुनौतीहरू देखिएको छ ।
