बनेपाको सुकुम्बासी होल्डिङ सेन्टर : कस्तो छ अवस्था ? [तस्वीरहरू]
काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि हजारौँ मानिस घरविहीन बनेका छन्। केही परिवार आफैँ अन्यत्र सरिसकेका छन् भने धेरैजसोलाई सरकारले विभिन्न होल्डिङ सेन्टरमा राखेको छ।
यस्तैमध्ये बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षण केन्द्रमा वैशाख २४ गते ११० जनालाई स्थानान्तरण गरिएको थियो।
होल्डिङ सेन्टरमा बसिरहेका अधिकांशको साझा माग एउटै छ,स्थायी बसोबास, रोजगारी र बालबालिकाको पढाइको सुनिश्चितता। उनीहरूका अनुसार अहिले खान र बस्नको समस्या तत्कालका लागि समाधान भए पनि भविष्य अन्योलमै छ।
शान्तिनगर बस्तीबाट ल्याइएका दिलबहादुर सुब्बा र कृष्णकुमारी सुब्बिनीले सरकारले पर्याप्त समय नदिई घर भत्काएको गुनासो गरे। उनीहरूका अनुसार सामानसमेत सुरक्षित रूपमा निकाल्न नपाउँदै डोजर चलाइएको थियो। अहिले उनीहरूको मुख्य माग छिटो पुनर्वासको व्यवस्था गर्नु रहेको छ।
दैनिक ज्यालादारी गरेर परिवार चलाउँदै आएका लालबहादुर लिम्बुले सरकारले वास्तविक गरिब र भूमिहीनको पहिचान गरेर उचित व्यवस्थापन गर्नुपर्ने बताए। उनकी १० वर्षीया छोरी मानसिक तथा शारीरिक रूपमा कमजोर रहेकाले उपचारमा पनि सरकारी सहयोगको अपेक्षा रहेको उनले सुनाए।
६६ वर्षीय तोयनाथ मिश्र बालाजु बस्तीबाट बनेपाको होल्डिङ सेन्टरमा पुगेका हुन्। पिसाबसम्बन्धी समस्या भएका उनी अहिले पिसाबको थैली बोकेर बस्न बाध्य छन्। कठिन अवस्था भए पनि सरकारले अन्ततः उचित व्यवस्था गर्ने आशा भने उनले छोडेका छैनन्।
होल्डिङ सेन्टरमा रहेका बालबालिकाको चिन्ता पनि विद्यालय शिक्षामै केन्द्रित छ। अभिभावकहरूका अनुसार बच्चाहरूको पढाइ रोकिए भविष्य थप अन्योलमा पर्न सक्छ।
नेपाल रेडक्रस जनशक्ति विकास प्रतिष्ठानकी विभागीय प्रमुख श्रद्धा श्रेष्ठका अनुसार सहरी विकास मन्त्रालयको समन्वयमा वैशाख २४ गतेदेखि १५४ जनासम्मका लागि आवास र खानाको व्यवस्था गर्न पत्राचार भएको थियो। सोही दिन साँझ तीन वटा गाडीमार्फत ११० जनालाई केन्द्रमा ल्याइएको उनले जानकारी दिइन्।
उनका अनुसार त्यहाँ विभिन्न उमेर समूहका मानिस छन्। नौ दिनकी सुत्केरीदेखि १८ वर्षमुनिका २६ जना बालबालिका, ज्येष्ठ नागरिक र विभिन्न स्वास्थ्य अवस्थाका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको छ।
श्रेष्ठका अनुसार केन्द्रको वास्तविक क्षमता ६० जनाको मात्रै भए पनि आकस्मिक अवस्थाका कारण दोब्बरभन्दा बढी मानिसलाई राख्नुपरेको छ।
बालबालिका, महिला र वृद्धवृद्धालाई सकेसम्म कोठामै राखिएको छ भने बाँकी पुरुषहरूलाई हलमा व्यवस्थापन गरिएको छ। परिवार छुट्टिन नपरोस् भनेर सकेसम्म एउटै ठाउँमा राख्ने प्रयास गरिएको उनले बताइन्।











