विवादबीच प्रधानन्यायाधीश नियुक्तिपछि वरिष्ठतम् न्यायाधीश मल्ल २० दिन बिदामा
काठमाडौं । वरिष्ठता, विधि र परम्परा मिचेर वरियतामा चौथो स्थानमा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाएपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छन् ।
उनी २० दिनका लागि बिदामा बसेकी हुन् । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उनी आफैंले स्वीकृत गरेर बिदा बसेकी हुन् ।
शर्माले मंगलबार प्रधानन्यायाधीश नियुक्त भएर पदभारसमेत ग्रहण गरिसकेका छन् । जबकि, मल्ल स्थापित विधि, परम्परा र वरिष्ठताका आधारमा प्रधानन्यायाधीश हुने अवस्थामा थिइन् ।
तर, संवैधानिक परिषदमार्फत् प्रधानमन्त्री बालेन्द्र शाहले बहुमतका आधारमा शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेका थिए । लगत्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत शर्मालाई प्रधानन्यायाधीशमा प्रस्ताव गर्ने परिषदको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च पुगेका थिए ।
तर, शर्मापक्षीय अदालतका मुख्य रजिस्ट्रार, रजिस्ट्रारहरूले रिट दरपिठ गरे । यद्यपि, कायममुकायम प्रधानन्याधीश मल्लले रिट दर्ता गर्न आदेश दिइन्, जुन कार्यान्वयन गर्न सर्वोच्च प्रशासन तयार भएन ।
यसबीचमा मंगलबार शर्माले प्रधानन्यायाधीशको पदभार ग्रहण गरेपछि मल्ल बिदा बस्ने निर्णयमा पुगेकी हुन् । यो घटनालाई लिएर नेपाल बार एसोसिएसन आन्दोलित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू दुई खेमामा विभक्त भएका छन् । यसले न्यायिक वातावरण निर्माण गरेर सर्वोच्च हाँक्न शर्मालाई चुनौतीपूर्ण देखिएको छ ।
