प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले संविधानले दिएको अधिकारलाई सरकारले चाहेर पनि सीमित गर्न नसक्ने स्पष्ट पारे ।
तर स्वतन्त्रतालाई स्वच्छन्दताको रूपमा प्रयोग गर्न नहुने बताउँदै मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रले आफ्नो गरिमा कायम राख्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ । संविधानले दिएको अधिकार हो । तर स्वतन्त्रता भनेको स्वच्छन्दता होइन । जवाफदेही हुनुपर्छ ।’
उनले सञ्चार माध्यमहरू राज्यको महत्वपूर्ण अंग भएकाले आफ्नो ओज र जिम्मेवारी कायम राख्दै काम गर्नुपर्ने सुझाव दिए ।
मन्त्री तिमिल्सिनाले सरकारले प्रेस काउन्सिललाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि काम अघि बढाइएको जानकारी पनि दिए ।
