बालेन सरकारविरुद्ध रास्वपाभित्रैबाट अमरेशले खोले ‘फायर’
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को उनकै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले कडा शब्दमा आलोचना गरेका छन् ।
उनले बालेन सरकारलाई ‘तथाकथित सरकार’ भन्दै संसदप्रति अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।
सांसद सिंह यतिमा मात्रै रोकिएनन् । उनले भने, ‘काठमाडौं महानगरको टिमले देश चलाउन खोजिरहेको छ, यो काठमाडौं महानगर होइन देश ।’
नेपाल-भारत सीमा क्षेत्रमा १०० रुपैयाँमाथिको सामान आयात गर्दा भन्सार शुल्क लगाएको सन्दर्भ जोड्दै उनी बालेन सरकारप्रति झनै आक्रोशित बने ।
‘यहाँको तथाकथित सरकारलाई भन्न चाहन्छु, कि बोर्डरमा जन्मेर थाहा हुन्छ कि बोर्डरको पीडा के हो ?’, उनले हिमालय टेलिभिजनको यज्ञ प्रश्न कार्यक्रममा भने ।
उनले बालेन सरकार निरङ्कुशताको बाटोमा हिँडेको भन्दै लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्न सुझाए । मंगलबार विनियोजन विधेयकमाथिको छलफलको क्रममा उनले बालेन सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका थिए ।
नयाँ र परम्परा भत्काउने नाममा संसदप्रति सरकारका जिम्मेवार अर्थमन्त्री उठेका प्रश्नहरूको जवाफ दिनबाट भाग्न नमिल्ने बताएका थिए ।
नेपाली कांग्रेस हुँदै स्वतन्त्र राजनीति गरेका सांसद सिंह गत २१ फागुनको निर्वाचनअघि रास्वपा प्रवेश गरेका थिए ।
सर्लाही–४ बाट निर्वाचित उनलाई बालेन सरकारको मन्त्रीको रूपमा हेरिएको थियो । तर, बजेट कम हुने उद्योग मन्त्रालय दिने भएपछि अस्वीकार गरे ।
भनिन्छ, प्रधानमन्त्री बालेन अमरेशलाई सत्ता राजनीतिबाट किनाराकृत बनाउन खोजिरहेका छन् । यस्तोमा अमरेशले बालेन सरकारविरुद्ध आक्रोश ओकलेका हुन् ।
यसलाई कतिपयले रास्वपाभित्रैबाट बालेन सरकारमाथि खोलिएको पहिलो तर अर्थपूर्ण ‘फायर’ हो ।
